काठमाडौं, २१ भदौ । गए राती संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको संखुवासभाका प्रहरी नायव उपरीक्षक (डीएसपी)लालध्वज सुवेदीले पुष्टि गरेका छन् ।
उनका अनुसार अहिले थप प्रहरी घट्नास्थलमा जाँदै गरेको छ । हधारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षिय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता कार्की, ५६ वर्षीया श्रीमती मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका थिए । उनीहरुको शव खोल्सा, बारीको कान्लामा भेटिएको थियो ।
धारिलो हतियार प्रहार गरेर उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।
मादी नगरपालिका वडा नम्बर १ उम्लिंग खोलगाउँमा कार्कीको घर बाहिर उनीहरु मृत अवस्थामा भेटिएका हुन्। नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपले घटना भएको पुष्टि गर्दै उक्त स्थान नगरपालिकाको दुर्गम भेगमा रहेको छ। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ५ घन्टा लाग्छ।