कोरोना संक्रमण बढ्न थालेपछि कैलालीमा प्रहरीले मास्क नलगाएका व्यक्तिलाई कारवाही गर्न थालेको छ । संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय कैलालीको निर्देशनमा प्रहरीले मास्क नलगाई सार्वजनिक स्थलमा हिँडेका व्यक्तिलाई कारवाही गर्न थालेको हो ।
बुधबार मात्र ४३ जना त्यस्ता व्यक्ति कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले रातोपाटीलाई जानकारी दिए ।
पछिल्लो समय मास्क नलगाई हिँड्ने प्रवृत्ति बढेको र संक्रमण दर बढ्न नदिन यस्तो कारवाही गर्नु परेको स्थानीय प्रशासनको भनाइ छ ।
मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना गर्न थालिएको प्रहरी निरीक्षक थापाले बताए । उनका अनुसार बिहीबार पनि प्रहरीले ठाउँठाउँमा अनुगमनसहित कारवाही गरेको छ ।
याे पनि पढ्नुहाेस्ः
‘असारसम्म तीन लाख व्यक्तिमा कोरोना संक्रमण देखा पर्नसक्छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो ।
बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
उनकाअनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ । सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।
उनले भने, ‘असार सम्ममा करिब करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ । ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ । हस्पिटल भित्र आउनुपर्ने ६० हजार बिरामी मध्ये ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने अवस्था पछिल्लो १०/१५ दिनको डेटा एनलाइसिस गर्दाखेरी देखिन्छ भने १५ हजार बिरामीको लागि क्रिटिकल केयर (आइसियु) चाहिने अवस्था देखिन्छ ।
त्यो हिसाबले हामी तयारी गर्नुपर्छ । यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरु चलाएका छौं । केही जिल्ला अस्पताललाई स्तरोन्नती गरेका छौं, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौं ।
यो बीचमा हामी करिब ५ सय जति आइसियु बेडहरु थप्यौं, करिब ४ सय जति भेन्टिलेटरहरु थप गर्न सक्याछौं र त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं ।’