सेवाग्राहीको अत्यन्त चाप रहने परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग र कन्सुलर शाखाका १२ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।
मंगलबारसम्म आएको रिपोर्टमा राहदानीका ८ र कन्सुलरका ४ कर्मचारीलाई कारोना पुष्टि भएको हो ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवाग्राहीको आवागमनमा कुनै प्रकारको कडाइ तथा स्वास्थ्य–सुरक्षाको मापदण्ड नतोकिएपछि थप सन्त्रास बढेको छ । ‘सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री वा सचिवसँग भेटघाट गर्न पूर्वस्वीकृति लिनुपर्ने, ज्वरो नाप्ने तथा स्यानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्नैपर्ने व्यवस्था गरिएको छ,’ कन्सुलरका एक कर्मचारीले भने- ‘तर, सेवाग्राहीको सक्दो भीड रहने राहदानी र कन्सुलरका बारेमा भने मन्त्रालयले कुनै चासो राखेको देखिन्न ।’
गत वर्ष पनि कोरोना संक्रमण बढेपछि राहदानी तथा कन्सुलरका सेवाहरु, ‘अत्यावश्यक बाहेक’ केही समयका लागि बन्द गरिएको थियो ।
पुरानो नारायणहिटी दरबार परिसरमा रहेको राहदानी र कन्सुलरमा अहिले पनि दैनिक रुपमा घटीमा २ हजार सेवाग्राही जिल्ला–जिल्लाबाट आउने गरेका छन् । ‘स्वास्थ्य सुरक्षाको प्रबन्ध वा काम गर्ने फरक समय तालिका, काम गर्दाको दुरी आदि बारेमा व्यवस्था गर्न मन्त्रालयलाई भनेको एक साता भइसक्यो,’ एक कर्मचारी भन्छन्, ‘यस्तै स्थिति आइपरेमा भर्चुअल रुपमा सेवा दिन सकिनेबारे पनि सोच्न सकिन्छ, तर मन्त्रालयले यसबारे सामान्य सरोकार पनि राखेको देखिन्न ।