चितवन, असोज ९– हिजो साँझदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड आज (शुक्रबार) पनि बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नारायणगढ–मुग्लिन सडक खण्ड बन्द रहने जनाएको छ । यस सडक खण्डमा निरन्तर वर्षासंगै पहिरो गइरहेको र हटाउने काम पनि भइरहेकोले आज पनि बाटो बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद शर्माले जानकारी दिए ।
यस्तै चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी स्थित पृथ्वी राजमार्गमा सडक भासिएको छ । सडक भासिएको ठाउँमा साना सवारी साधन र मोटरसाइकल मात्रै चलाउने मिल्ने अवस्थामा पुगेको छ । यहीँ ठाउँमा गत भदौ ३१ गते सडक भासिएर एकतर्फी संचालनमा थियो ।

