गैँडाकोट, नवलपुर। जिल्लाकै ठूलो धनराशिको पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी टुर कार्यक्रम भोलि माघ २९ गते दिउँसो ३ बजे नवजागरण क्रिकेट रंगशालामा हुने भएको छ।
फागुन १ गतेदेखि सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै आयोजक नवजागरण ग्रामीण विकास केन्द्रले ट्रफी टुर कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा प्रतियोगिताको आकर्षक ट्रफी सार्वजनिक प्रदर्शन गरिनुका साथै खेलाडी, खेलप्रेमी तथा स्थानीय सरोकारवालाको सहभागिता रहने जनाइएको छ।
प्रतियोगितामा सात प्रदेशबाट सात टिम र आयोजकको मेयर्स–११ गरी आठ टिमको सहभागिता रहनेछ। विजेताले उपाधिसहित रु ३ लाख र उपविजेताले रु २ लाख पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकका अनुसार ट्रफी टुर कार्यक्रममार्फत प्रतियोगिताप्रति जनचासो अभिवृद्धि गर्ने, खेलकुदमय वातावरण सिर्जना गर्ने तथा युवा पुस्तालाई क्रिकेटतर्फ आकर्षित गर्ने उद्देश्य रहेको छ।
फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक मेयर्स–११ र कर्णाली प्रदेशबीच हुनेछ।



