गैँडाकोट- नवलपुरको गैँडाकोटमा अवस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयलाई बेष्ट सेकेन्डरी स्कुल को अवार्ड प्रदान गरिएको छ । शिक्षाको क्षेत्रमा उच्च योगदान दिएको भन्दै राजधानी काठमाडौंस्थित नेपाल प्रहरी क्लबमा आयोजित एक भव्य समारोहबीच विद्यालयलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
शिक्षामा उल्लेखनीय योगदान पुर्याउँदै आएको सरस्वती निकेतनलाई फोकस नेपाल नामक सामाजिक संस्थाले सम्मानित गरेको हो । मुनाफारहित उद्देश्यसहित शिक्षाको क्षेत्रमा क्रियाशील फोकस नेपालले हरेक वर्ष देशभरिका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई चयन गरी सम्मान गर्दै आएको छ ।समारोहमा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेल, विशिष्ट अतिथि एवं पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा तथा प्रमुख अतिथि पूर्व मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यालयलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
वि.सं.२०५० सालतिर स्थापना भएको सरस्वती निकेतन आवासीय माविमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने करिब ८५० जना विद्यार्थी रहेका छन् । विद्यालयले प्रारम्भदेखि नै अनुशासित, गुणस्तरीय र समावेशी शिक्षालाई प्राथमिकता दिँदै आएको छ ।यस विद्यालयबाट शिक्षा हासिल गरेका धेरै विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च सफलता प्राप्त गर्दै संस्थाको नाम उज्यालो बनाउँदै आएका छन् ।
विद्यालयले प्रारम्भदेखि नै पारिवारिक वातावरण, विद्यार्थीमैत्री व्यवस्थापन र गुणस्तरीय शिक्षामा विशेष ध्यान दिँदै आएको छ । शिक्षक, अभिभावक र विद्यार्थीबीचको समन्वय, अनुशासन र सुसंस्कृत शैक्षिक अभ्यास सरस्वतीको पहिचान बनेको छ ।
विद्यालयलाई प्राप्त सम्मानप्रति विद्यालय परिवारले खुसी व्यक्त गर्दै भविष्यमा अझै नवीन सोच, सिर्जनशीलता र सामाजिक सेवामा समर्पित शिक्षा प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।फोकस नेपाल तथा सम्मानदाताप्रति आभार प्रकट गर्दै विद्यालयले आगामी दिनमा शिक्षा र समाजसेवाको यात्रामा अझै सशक्त र समर्पित ढंगले अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।