चितवन, ६ असार । चितवनको भरतपुर–१६ मा अवस्थित श्री माध्यमिक विद्यालय ढड्डाघारीमा नमूना मतदान मार्फत विद्यार्थी नेताहरु छनौट गरिएको छ । शुक्रबार भएको निर्वाचन मार्फत विद्यालय क्याप्टेन, विद्यालय भाइस क्याप्टेन, सदन क्याप्टेनहरु, सदन भाइस क्याटेनहरु निर्वाचित भएका हुन् ।
निर्वाचनमा कुल २४ जना उम्मेदवार रहेका थिए । निर्वाचन प्रक्रियाको नियमानुसार मनोनयन दर्ता, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, अभिमुखीकरण, प्रचारप्रसार र मौन अवधिको समेत तालिका प्रकाशन गरिएको थियो । मतदाताका रुपमा कक्षा ४ देखि १० सम्मका तीन सय ३७ विद्यार्थी रहेकोमा ९७.३५ प्रतिशत मत खसेको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक शिव पौडेलले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद सुवेदीले प्रमुख निर्वाचन अधिकृतकोरूपमा, सहायक प्रधानाध्यापकहरु वैकुण्ठ थापा, यमुना प्रकाश बराल, शिक्षकहरु बनिता अर्याल र जनार्दन ढकालले मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो । मतदान प्रक्रियामा विद्यार्थीहरू निकै उत्साहित थिए र उनीहरूले मतदान प्रक्रियामा सक्रिय रुपमा सहभागिता जनाएका पौडेलले बताउनुभयो ।
चार वटा मतदान केन्द्रको व्यवस्था गरिएकोमा निर्वाचन प्रक्रियालाई सरल, स्वच्छ र निष्पक्ष बनाइएको थियो । मतदान प्रकृयामा आवश्यक पर्ने नेपाल प्रहरी, नेपाली सेना र स्वयंसेवकको भूमिका विद्यार्थीहरुले नै निर्वाह गरी मतदान कार्यलाई सहज बनाएका थिए ।
विद्यालय क्याप्टेनमा कक्षा ७ का प्रवेश खनाल र भाइस क्याप्टेनमा प्रश्ना राईको उम्मेदवारी परेपछि दुवै उम्मेदवार निर्विरोध निर्वाचन हुनुभयो । यसैगरी, निलो सदनको क्याप्टेनमा निश्चल अधिकारी र भाइस क्याप्टेनमा प्रीसकला मगर निर्वाचित हुनुभयो । हरियो सदनको क्याप्टेनमा सिम्रन न्यौपाने निर्वाचित हुँदा हरियो सदनको भाइस क्याप्टेनमा कञ्चन गुरुङ र सस्मिता बिकको बराबरी मत आएपछि गोला प्रथाबाट कञ्चन गुरुङ निर्वाचित हुनुभयो ।
रातो सदनको क्याप्टेनमा रजिस्मा अधिकारी र भाइस क्याप्टेनमा कशीस अधिकारी, पहेँलो सदनको क्याप्टेनमा आरुसी थापा र भाइस क्याप्टेनमा पुरन सिंह सारु निर्वाचित हुनुभयो । निर्वाचन पश्चात निर्वाचित विद्यार्थी नेताहरुलाई विद्यालयका प्रधानाध्यापक एवम् प्रमुख निर्वाचन अधिकृत गोविन्द प्रसाद सुबेदीले अबिर लगाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । विद्यार्थीहरूलाई व्यावहारिकरूपमा लोकतान्त्रिक प्रणाली र निर्वाचन प्रक्रियासम्बन्धी ज्ञान दिलाउन निर्वाचन गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमुना प्रकाश बरालले बताउनुभयो ।
नमूना निर्वाचनले विद्यार्थीहरुलाई निर्णय प्रक्रियामा सहभागी भइ आफ्नो मत प्रयोग गरी आफ्ना प्रतिनिधि छनौट गर्ने र यसले विद्यार्थीहरुमा नेतृत्व गुण विकास गर्न, आत्मविश्वास, व्यक्तित्व क्षमता र जिम्मेवारी बोध जस्ता गुणहरु विकसित गर्न मद्दत पु¥याउने विद्यालयका अतिरिक्त क्रियाकलाप समिति संयोजक शिक्षक शिव पौडेलले बताउनुभयो । आगामी दिनमा विद्यार्थीहरुका लागि पृथक व्यवहारिक कार्यक्रमहरु आयोजना गरिने पौडेलले जानकारी दिनुभयो ।
विद्यार्थी नेता छनौट गर्न भएको निर्वाचन प्रकृयामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदन नेपाली, भरतपुर–१६ का वडा सदस्य विष्णु दवाडी एवम् विद्यालय सल्लाहकार समिति संयोजक भोजराज पौडेलको विशेष उपस्थिति रहेको थियो ।