गैंडाकोट, नवलपुर । गैंडाकोट नगरपालिकाले हालै ल्याएको विज्ञापन कर नीतिको तीव्र विरोध गदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैंडाकोट नगर कार्यसमितिले नगर उपप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा नगरपालिकाले निजी कम्पनीमार्फत व्यवसायीक बोर्डमा कर असुली गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै, उक्त निर्णय साना तथा मझौला व्यवसायीमाथि थप आर्थिक बोझ बन्ने उल्लेख गरिएको छ।
रास्वपाका नगर सभापति विमल घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चारवटा प्रमुख मागहरु अघि सारिएका छन्:
व्यवसायीक बोर्डमा लाग्ने विज्ञापन करको निर्णय तत्काल पुनरावलोकन गरियोस्।
व्यवसायी तथा सरोकारवालासँग परामर्शबिना आर्थिक नीति कार्यान्वयन नगरियोस्।
गैंडाकोट नगरभित्र व्यवसाय प्रवर्द्धनका लागि प्रोत्साहनमुखी नीति ल्याइयोस्।
साना उद्यमीलाई कर छुट तथा सहुलियत योजना अवलम्बन गरियोस्।
पार्टीले कोभिड महामारी, बढ्दो मुद्रास्फीति, रूपैयाँ अवमूल्यन र वैदेशिक पलायनले व्यवसायीहरू पहिल्यै संकटमा परेको उल्लेख गर्दै, थप बोझ सिर्जना नगर्न नगरपालिकालाई आग्रह गरेको छ। रास्वपाले शान्तिपूर्ण रुपमा असहमति जनाउँदै स्थानीय सरकारलाई व्यवसायमैत्री नीति ल्याउन आह्वान गरेको छ।