काठमाडौं,फागुन १०- कांग्रेसमा नेतालाई खुलस्त प्रश्न गर्न पाइने महामन्त्री गगन थापाले बताएका छन् । उनले कांग्रेसमा नेतालाई प्रश्न गरेकै आधारमा निष्कासन नगरिने बताए । सल्यानमा शनिबार आयोजित पार्टीको सभामा थापाले कांग्रेसका नेताहरूलाई खुलस्त प्रश्न गर्न पाइने र पार्टीविरुद्ध आउने अनावश्यक आरोपको कार्यकर्ताले प्रतिवाद गर्नुपर्ने बताए ।
पार्टी सभापति, जिल्ला सभापति, मसँग, मेयर, पालिका अध्यक्ष, मन्त्रीसँग रिस उठेको होला । कोठाभित्र मसँग रिस पोख्नुस्, बाहिर पनि पोख्नुस्, कांग्रेसका नेतालाई प्रश्न गर्ने हक छ, थापाले भने, हामी कुनै बा को पार्टी होइन, जसले प्रश्न गर्नासाथ निकालिदिने । हामी सबै बराबर हैसियत भएको पार्टी हो ।
कांग्रेसमा एकअर्काको आलोचना र प्रश्न गर्न पाइने थापाले बताए । तर, तपाईं हाम्रो घर, आस्था, मन्दिर कांग्रेसमाथि अनावश्यक लान्छना लगाउँदै गर्दा पनि नेताको रिसले गर्दा प्रतिवाद गर्न जानुहुन्न भने तपाईंको आस्थामाथि प्रश्न उठ्न सक्छ, थापाले भने । थापाले नेताको रिसले पार्टीलाई क्षति हुने कार्य नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।