गैंडाकोट, १२ माघ । नवजागरण ग्रामीण विकास केन्द्र गैंडाकोट नगरपालिका- ९ थुम्सी, नवलपरासीले संस्थाको परिचय पुस्तिका {ब्रोसर} सार्वजनिक गरेको छ । संस्थाका अध्यक्ष रामचन्द्र सापकोटा र गैंडाकोट-९ का वडाध्यक्ष धामनाथ सापकोटाले शनिबार बिहान संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममाझ ब्रोसर सार्वजनिक गर्नुभएको हो । २०६९ सालमा स्थापना भएको संस्थाले विशेषगरी सहकारी, खेलकुद, शिक्षा, स्वास्थ्य र पर्यावरणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
परिचय पुस्तिकामा संस्थाको स्थापनादेखि हालसम्मको कार्यसमितिको जानकारी र तिनले गरेका कामहरूको विवरण समेटिएको छ । त्यसैगरी आर्थिक समृद्धिका लागि स्थापना गरिएको नवजागरण सहकारीका माध्यमबाट वडाको आर्थिक विकासमा टेवा पुगेको बारेमा पनि परिचय पुस्तिकामा उल्लेख छ । यो सहकारी हाल विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवजागरण केन्द्रका रूपमा सञ्चालित छ । संस्थाले `स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकुद´ भन्ने नाराका साथ खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । स्मृतिकप, पर्वविशेष गैंडाकोट मेयर कपसहित स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरका प्रतियोगिताहरू गर्दै आइरहेको संस्थाले नवजागरण खेलमैदानलाई नवजागरण रंगशालाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।
संस्थाले हालसम्म गरिरहेको स्वास्थ्य, सरसफाइ, पर्यावरणको संरक्षण, शिक्षा, तालिम, पुस्तकालय, उत्प्रेरणा र उद्बोधनलगायतका कामहरू र आगामी दिनमा गर्न लागिएको योजनाको विवरण पनि पुस्तिकामा रहेकोे छ । कार्यक्रममा समाजसेवी गंगाबहादुर पाण्डे, वडाध्यक्ष धामनाथ सापकोटा र नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई केन्द्रका संस्थापक पीताम्बर सापकोटाले सहजीकरण गर्नुभएको थियो ।