चितवन । जारी चितवन महोत्सवमा सहभागी होटल व्यवसायीहरूले महोत्सवको सुरुदेखि नै आफूहरूलाई अन्यायपूर्ण व्यवस्थापन गरिएको गुनासो गरेका छन् । महोत्सवलाई अझ समृद्ध बनाउन र आगन्तुकहरूलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले व्यवसायीहरूले ठूलो लगानीसहित सहभागिता जनाए पनि महोत्सवको संरचनात्मक व्यवस्थापनले आफुहरुलाई गम्भीर आर्थिक र मानसिक मर्का परेको उनीहरुले बताएका छन्।
व्यवसायीहरूले होटल स्टलहरूलाई मुख्य गेट र चहलपहल हुने स्थानबाट निकै टाढा र असहज स्थानमा राखिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, र सामान्य आगन्तुकहरूका लागि समेत सहज पहुँच नभएको स्थानमा स्टल राखिएपछि आगन्तुकहरूको न्यून उपस्थिति रहेको उनीहरूको गुनासो छ। यस्तै, समान प्रकृतिका केही स्टलहरूलाई भीडभाड हुने स्थानमा राखिएकोले प्रतिस्पर्धामा असमानता आएको व्यवसायीहरूले बताएका छन्।
महत्वपूर्ण संरचनात्मक त्रुटिहरूका कारण होटल व्यवसायीहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्यो। महोत्सव क्षेत्रमा लैंगिकमैत्री शौचालयको अभाव, आकस्मिक स्वास्थ्य सेवाको पहुँचको कमी र सरसफाइमा ध्यान नदिइएको व्यवसायीहरूको आरोप छ। यस्ता समस्याहरूले आगन्तुकहरूको चहलपहल घटाउनुका साथै व्यवसायीहरूको आम्दानीमा नकारात्मक असर पुर्याएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूले महोत्सवको दोस्रो दिनदेखि नै उद्योग वाणिज्य संघलाई पटकपटक समस्या जानकारी गराएका थिए। समाधानका लागि स्टल स्थानान्तरण गर्न तथा समान प्रकृतिका स्टलहरूलाई बराबरी स्थानमा राख्न अनुरोध गरे पनि आयोजकले बेवास्ता गरेको व्यवसायीहरूको आरोप छ। व्यवसायीहरूले आफ्नै खर्चमा समस्या समाधानको प्रस्तावसमेत गरेका थिए, तर आयोजकले त्यसलाई अस्वीकार गरी समस्या अझै जटिल बनाएको उनीहरूको भनाइ छ।
आफूहरूमाथि गरिएको अन्यायका कारण आक्रोशित होटल व्यवसायीहरूले आयोजकलाई महोत्सवको व्यवस्थापन सुधार्न आग्रह गरेका छन्। उनीहरूले होटल स्टल शुल्कमा पूर्ण मिनाहा गर्न, भविष्यमा व्यवसायीहरूको आवश्यकतालाई प्राथमिकता दिन, महोत्सव व्यवस्थापनमा पारदर्शिता र व्यावसायिकता अपनाउन, तथा आगन्तुकका लागि सहज पहुँच, लैंगिकमैत्री शौचालय, र आकस्मिक सेवा सुनिश्चित गर्न माग गरेका छन्।
चितवन महोत्सवलाई व्यवस्थित र सफल महोत्सवका रूपमा चिनाउने उद्देश्यले ठूलो लगानी गरेका व्यवसायीहरूले आयोजकको गैरजिम्मेवारीपूर्ण व्यवहारले आफूहरूलाई अपमानित बनाएको महसुस गरेका छन्। उनीहरूले सञ्चारमाध्यमलाई आफ्नो आवाज समाजसम्म पुर्याउन र व्यवसायीहरूको हकहितका लागि सहयोग गर्न आग्रह गरेका छन्।