नवलपुर, ५ माघ । नवलपुरको गैँडाकोट–१८ मा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि देवचुली नगरपालिका वडा नम्बर १६ ले जितेको छ । देवचुली १६ ले उपाधिसँगै ४० हजार रुपैयाँ हात पारेको छ ।
प्रतियोगिताको आयोजक योङ स्टार युथ क्लबका अध्यक्ष देवराज सुनारी मगरका अनुसार प्रतियोगितामा दोस्रो स्थान भने गँैडाकोट १८ आहालेले प्राप्त गर्दै २५ हजार रुपैयाँ हात पारेको छ । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गैँडाकोट ३ ढोडेनी र गैँडाकोट १८ ले आठ–आठ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका मगरको भनाइ छ ।
माघे संक्रान्ति पर्वको अवसरमा आयोजित प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फको उपाधि भने गँैडाकोट १८ ले जितेको छ । प्रतियोगितामा विजेता बन्दै १८ ले १५ किलोको बोक हात पारेको छ । त्यस्तै उपविजेता पनि गैँडाकोट १८ भएको भन्दै भेट्रान्सतर्फको उपविजेताले दुईवटा भाले प्राप्त गरेको क्लबका अध्यक्ष मगरले जानकारी दिनुभयो ।
योङ स्टार युथ क्लबको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर १८ को मुख्य प्रायोजनमा गत पुस २६ देखि माघ २ गतेसम्म प्रतियोगिता सम्पन्न भएको थियो ।