नवलपुर, १० पुस : नेकपा (एमाले) निकट उद्योग तथा व्यवसायीहरुको सङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको केन्द्रीय विधान तथा नीति निर्माण सम्मेलन नवलपुरमा हुने भएको छ ।
पुस १२ र १३ गते जिल्लाको गैँडाकोटमा विधान तथा नीति निर्माण सम्मेलन हुने लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । वर्तमान समयमा नेपाली अर्थतन्त्रमा देखिएका समस्या र समाधान सहितको दृष्टिकोणबारे सम्मेलनमा छलफल हुने जनाइएको छ । महासङ्घका निवर्तमान उपाध्यक्ष एवम् विधान तथा नीति निर्माण सम्मेलन संयोजक डा तिलचन्द्र भट्टराईले सरकार, पार्टी र व्यवसायी गरी त्रिपक्षीय छलफल हुने र राज्यलाई सुझाव दिने बताउनुभयो ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार डा युवराज खतिवडा, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल तथा देशका ७७ वटै जिल्लाबाट करिब तीन सय जना व्यवसायी प्रतिनिधिहरुको सहभागिता रहने भट्टराईले बताउनुभयो । नेपालमा कुनै पनि बस्तु ठूलोमात्रामा उत्पादन गर्न नसकिएको भन्दै भट्टराईले निर्यात भएका बस्तुहरु निर्यात गर्ने अवस्था नभएको बताउनुभयो । “देशभर थोरै परिमाणमा उत्पादन भइरहेको छ” उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारले समन्वय गरेर उत्पादन बढाउनतर्फ लाग्यौँ भने हाम्रो उत्पादन निर्यात गर्न सहज हुन्छ ।”
अहिले व्यवसायमा देखिएका कठिनाइलाई सम्बोधन गर्नेगरी छलफल गरेर सरकारलाई योजना बनाउन सुझाव दिइने उहाँको भनाइ छ । आफूहरुको सङ्गठन नेकपा एमाले निकट भए पनि विचारमा स्वतन्त्र र व्यवसायीको हकहितमा काम गर्ने संस्था भएकाले सबैलाई अटाउनेगरी विधान संशोधन गर्न सम्मेलन गरिएको सम्मेलन संयोजक डा भट्टराईले बताउनुभयो ।
पत्रकार सम्मेलनका क्रममा नेपाल उद्योग तथा व्यवसायी महासङ्घका संयोजक भागिरथ सापकोटाले देशको अर्थतन्त्रमा उद्योगले पु¥याएको योगदानको करिब ९५ प्रतिशत हिस्सा साना तथा मझौला उद्योग व्यवसायले ओगटेको बताउनुभयो । “देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगी र व्यवसायीको भूमिका महत्वपूर्ण रहेको छ” उहाँले भन्नुभयो, “यी व्यवसायीलाई बलियो बनाउँदै सङ्गठित भएर अगाडि बढ्दा राज्यलाई पनि फाइदा हुन्छ ।” व्यवसायी धनी हुँदैमा समाज धनी नहुने भन्दै उहाँले व्यवसायको पैसा समाजमा पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
“निजी क्षेत्रलाई पारदर्शी बनाउनुपर्छ, करको दायरमा ल्याउनुपर्छ । जसबाट राज्य धनी हुन्छ र राज्य धनी भएपछि राज्यले प्रवाह गर्ने लगानीबाट समाज पनि धनी हुन्छ” सापकोटाले भन्नुभयो, “राज्यको अर्थतन्त्र बलियो बनाउन वैदेशिक सम्बन्ध राम्रो बनाउनुपर्छ, अनौपचारिक अर्थतन्त्रलाई बैंकिङ कारोबारमा ल्याउनुपर्छ ।” नेपालको अर्थतन्त्रलाई माथि लैजानका लागि कृषि, पर्यटन, उर्जा, सूचना–प्रविधि र नेपालमा उपलब्ध हुने कच्चा पदार्थमा आधारित उद्योगमा लगानी बढाउन सकेमा नेपालको अर्थतन्त्र बलियो हुने उहाँले बताउनुभयो ।
गैँडाकोटमा हुने विधान तथा नीति निर्माण सम्बन्धी विस्तारित बैठकले सङ्गठनको विधान संशोधन गर्दै चितवन नवलपुर घोषणापत्र जारी गर्नेछ । घोषणापत्रले मुलुकको अर्थतन्त्रलाई सुधार गर्नका लागि सरकारले चाल्नुपर्ने कदम तथा अर्थतन्त्रमा देखिएका समस्या र समाधानसमेत औँल्याएर सरकारलाई सुझाव दिने बताइएको छ ।
गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान सम्मेलन हुँदै
गैँडाकोटमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको विधान सम्मेलन हुँदै

तपाईको प्रतिक्रिया