काठमाडौं, पुस ९- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन्। उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो।
मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो। डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ।
कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
‘उनी युवा खेलाडी भएपनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्, उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी हुनेछन्’, मुडीले भनेका छन्।
मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीको भनाइ छ। उनको १४७ हाराहारीको स्ट्राइक-रेटले उनको क्षमता स्प्षट पार्ने समेत उनले बताए। उनलाई भाइपर्समा आबद्ध भएर थप अनुभव मिल्न पनि सहयोग हुनेछ।
मल्लले भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोज टिमको कप्तानी समेत गरेका थिए। उनको टिम चौथो भएको थियो। उनले प्रतियोगितामा ८ खेलमा २२३ रन बनाउनुका साथै ९ विकेट पनि लिएका थिए।
उनले टी-२० आईमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी हुन्। उनले टी-२० आईमा ४७ खेलमा ९१७ रन बनाएका छन् भने १९ विकेट लिएका छन्।
डेजर्ट भाइपर्सको स्क्वाडमा फकार जमान, एलेक्स हेल्स, साम करान, वानिन्दु हसरङ्गाजस्ता विश्वचर्चित खेलाडीहरू छन्। प्रतियोगिताको तेस्रो संस्करण आगामी जनवरीमा सुरू हुँदैछ।