नवलपुर, ११ कात्तिक । नेपाल तरुण दलको ७२औँ स्थापना दिवसको अवसर पारेर नवलपुरमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
नेपाल तरुण दल नवलपुरले आज गैँडाकोटमा स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण तथा आउँदै गरेको दीपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदनप्रदान एवम् चियापान कार्यक्रम गरेको हो । तरुण दलले गैँडाकोट–२ मा रहेको महेन्द्र स्मारक विद्यालयमा बालविकास कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको तरुण दल नवलपुरका अध्यक्ष मिन घलेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उहाँले काँग्रेसको भातृ संगठनका रूपमा रहेको तरुण दल राजनीतिमा मात्र नभई सामाजिक क्रियाकलापमा पनि सक्रिय रहेको बताउनुभयो । तरुण दलले देशलाई आवश्यक परेको बेलामा भौतिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आउनु खुसीको कुरा भएको उहाँको भनाइ छ ।
पुरस्कार तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस नवलपुरका सदस्य खगराज सापकोटा, गण्डकी प्रदेश क्षेत्र नम्बर १ क का सभापति गोपाल सापकोटा, तरुण दल केन्द्रीय समिति सदस्य मोतीचन्द्र चालिसे, गैँडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटा, महेन्द्र स्मारक विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेलगायतको सहभागिता रहेको थियो ।