चितवन । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
असोज १२ गते भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टमा हुने फाइनल प्रतियोगिताको उद्घाटन नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय अध्यक्ष राजेश बाबु श्रेष्ठले गर्ने तय भएको छ । यस प्रतियोगिताको मिष्टर चितवन पुरुष शारीरिक सुगठनतर्फ ५५ किलो, ६० किलो, ६५ किलो, ७० किलो, ७५ किलो र ७५ किलोभन्दा माथि प्रतिस्पर्धा गराईनेछ । त्यस्तै ५० वर्षभन्दा माथिका पुरुष खेलाडीबीच माष्टर वेट खुल्ला प्रतिस्पर्धा गराईने चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए ।
प्रत्येक वेट क्याटगोरीका बिजेता (गोल्ड मेडलिष्ट)लाई ३० हजार, फष्ट रनरअपलाई २० हजार र सेकेण्ड रनरअपलाई १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र अन्य पुरस्कार प्रदान गरिनेछ । छुट्टा–छुट्टै ६ वटा वेट क्याटगोरीबाट छनौट भएका गोल्ड मेडलिष्टहरु बीच प्रतिस्पर्धा गराएपछि छनोट हुने प्रतियोगी नै मिष्टर चितवन २०८१ को विजेता बन्ने गुरुङले बताए । विजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र अन्य पुरस्कार पाउने छ । प्रतियोगिताको महिलातर्फ खुल्ला रुपमा भाग लिन पाउने व्यवस्था मिलाइएको छ ।
महिलातर्फ हुने एथलेटिक्स फिजिक्स प्रतियोगितामा बिजेता हुनेले ५० हजार, फष्ट रनरअप हुनेले २५ हजार र सेकेण्ड रनरअप हुनेले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र अन्य पुरस्कार पाउने आयोजकले बताएको छ । प्रतियोगिता सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
अन्तर्राष्ट्रिय रुपमा विभिन्न कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरी पाँच पटकसम्म मिष्टर नेपाल बिजेता बनेका प्रताप काजी बरिया प्रतियोगिताको प्रमुख निर्णायकको भूमिका रहनेछन् । त्यस्तै, ९ जना सहायक निर्णायकहरुले कार्याक्रममा सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिए ।