नवलपुर, ९ भदौ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले नगर क्षेत्रभित्रका विद्युत् पोलमा टाँगिएका तार व्यवस्थित गर्ने भएको छ ।
नगर क्षेत्रभित्र रहेका विद्युत् पोलमा टाँगिएका विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाहरुको तारलाई व्यवस्थित गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । “विद्युत्को पोलमा अव्यवस्थित रुपमा टाँगिएका इन्टरनेट तथा अन्य तारले शहरको सौन्दर्यतामा कमी ल्याएको छ” उहाँले भन्नुभयो, “अनावश्यक रुपमा गुजुमुच्च टाँगिएका तारबाट आगलागी हुने सम्भावना समेत देखिएकाले तारहरु हटाउने तयारी गरिएको हो ।” नगर कार्यपालिकाको बैठकले अव्यवस्थित तार हटाउने निर्णय गरेर काम अगाडि बढाएको खनालले जानकारी दिनुभयो ।
विद्युतीय तार तथा पोललाई उचित व्यवस्थापनको काम गर्न सम्पूर्ण कार्यालयहरुलाई सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । विद्युत्का पोलमा अनावश्यक तारसहित विभिन्न सङ्घसंस्थाहरुले अनुमति बिना नै प्रचारका सामग्री, फ्लेक्स बोर्डसमेत राखेकाले त्यस्ता सामग्री हटाउनसमेत खनालले आग्रह गर्नुभयो । पूर्वपश्चिम राजमार्ग विस्तारसँगै पालिका क्षेत्रमा इन्टरनेट सेवा प्रदायकहरुले तारलाई व्यवस्थापन नगरेका भन्दै त्यस्तो तार हटाइने उहाँको भनाइ छ ।