चितवन, ५ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नपा–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । आज साँझ खसेको ठूलो पहिराका कारण राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराका कारण डाँडै खसेर राजमार्ग अवरुद्ध भएकाले सडक सञ्चालनमा समय लाग्ने जनाइएको छ । पहिरो खसेको स्थान निरीक्षणको लागि व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने पहिरो खसेको स्थानमा पुग्नुभएको छ ।
मंगलबारदेखि परेको निरन्तरको वर्षाले पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा सानाठूला पहिरो खसेका छन् । तनहुँकै म्याग्दे गाउँपालिका वडा नम्बर–२ मा पर्ने राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण यस सडक बिहानैदेखि एकतर्फी सञ्चालन भइरहेको थियो ।