नवलपुर, २० साउन । नवलपुरको गैँडाकोटमा रहेको लुम्बिनी आईसीटी कलेजको लुम्बिनी आईसीटी क्लबद्वारा आयोजित इन्ट्रा कलेज ह्याकाथुनको उपाधि फोनिक्स समूहले हात पारेको छ । प्रतियोगितामा सहभागी अन्य १० समूहलाई पछि पार्दै फोनिक्सले उपाधिसँगै २० हजार रुपैयाँ हात पारेको थियो ।
साउन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कलेजका विभिन्न संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको ११ वटा समूह सहभागी भएको लुम्बिनी आईसीटी क्लब अध्यक्ष भक्तबहादुर खड्का ‘सुशील’ले जानकारी दिनुभयो । प्रतियोगितामा बिसिए, बिआईएम र सिएसआईटीका विद्यार्थी सहभागी भएका भन्दै खड्काले प्रतियोगितामा दोस्रो हुने साइबर क्रिपर्सले १५ हजार रुपैयाँ पुरस्कार हात पारेको जानकारी दिनुभयो ।
त्यस्तै उत्कृष्ट इन्नोभेसन आइडियाको विजेता बन्दै कोड फ्युल समूहले १० हजार रुपैयाँ हात पारेको खड्काको भनाइ छ । साउन १९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विद्यार्थीहरुले पर्यटन, स्वास्थ्यलगायतका विभिन्न विषयमा प्रोजेक्ट तयार पारेका थिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा होमनाथ आचार्य रहनुभएको थियो भने कलेजका प्रिन्सिपल प्रताप कोइराला अतिथि रहनुभएको थियो ।