नवलपुर, १९ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा रु १० लाखसम्म पुँजी भएको व्यवसायहरु वडा कार्यालयबाटै दर्ता हुने भएका छन् । नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र आर्थिक ऐन २०८१ मा उल्लेख गरेअनुसार रु १० लाखसम्म पुँजी भएका व्यवसायहरु वडा कार्यालयबाटै दर्ता र नवीकरण सुरु गरेको हो ।
नगरप्रमुख भीमलाल अधिकारीले नगरवासीलाई अधिकतम सुविधा दिएर स्वरोगार बनाउने उद्देश्यले सानो पुँजीमा सञ्चालित व्यवसायलाई प्रवर्द्धन गर्न वडाबाटै दर्ता र नवीकरणको काम सुरु गरिएको बताउनुभयो । “सानो पुँजीमा व्यवसाय दर्ता र नवीकरण गर्न नगरपालिकासम्म आउन कठिन हुनसक्छ भनेर हामीले वडाबाटै दर्ता र नवीकरणको काम सुरु गरेका हौँ” उहाँले भन्नुभयो, “तर बहाल कर तिर्न तथा निजी स्वामित्वमा स्थापित घर संरचनाहरुको बहाल बिरौटा कर भने नगरपालिकामा नै आएर तिर्नुपर्छ ।”
नगरपालिकाले स्वरोजगार हुन चाहने र विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गर्दै कृषि विकास बैंकसँगको सहकार्यमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई बिना धिता सहुलियत दरमा कर्जासमेत उपलब्ध गराउँदै आएको अधिकारीले बताउनुभयो ।