चितवन, १७ साउन । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर विद्यार्थीहरुलाई मानव बेचिबखन तथा ओसारपसार र हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको छ । माइती नेपाल चितवन शाखाका कार्यक्रम संयोजक ईश्वर गिरीकाअनुसार भरतपुर–१० मा रहेको मैयादेवी कन्या कलेजका विद्यार्थीहरुका लागि मानव बेचबिखन तथा ओसार र लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिइएको हो ।
दिवसको अवसर पारी मानव बेचिबखन नियन्त्रण जिल्ला सन्जाल चितवन, मैयादेवी कन्या कलेज र माईती नेपाल चितवनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिमा मैयादेवी कन्या कलेजका संरक्षक प्रेम श्रेष्ठ रहनुभएको थियो । उक्त चेतनामूलक कार्यक्रममा माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले विद्यार्थीहरुलाई मानव बेचबिखन तथा ओसार र लैङ्गिक हिंसा नियन्त्रणका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
पछिल्लो समय नेपाल मानव बेचबिखन तथा ओसारपसारको केन्द्र बनेको भन्दै समुदायका सबै सचेत हुनुपर्नेमा गिरीले जोड दिनुभएको थियो । मानव बेखिबिखन विदेशमा मात्रै नभएर देशभित्रैसमेत हुने गरेको गिरीको भनाइ छ । पछिल्लो समय मनोरञ्जन क्षेत्र, होटललगायतको ठाउँमा देहव्यापार हुने गरेको भन्दै उहाँले त्यसलाई पनि मानव बेचबिखनको रुपमा परिभाषित गरिएको बताउनुभयो ।
वैदेशिक रोजगारमा जाँदा नेपालको विमानस्थल हुँदै जानुपर्ने, श्रम स्वीकृति गराएरमात्रै वैदेशिक रोजगारमा जानुपर्नेलगायतका सबै प्रकृया कानुनीरुपमा पूरा गरेर वैदेशिक रोजगारमा जाँदा बेचबिखनको सम्भावना कम हुने भएकाले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समय महिलामात्रै नभइ पुरुष तथा बालबालिकासमेत बेचबिखन हुने गरेको उहाँको भनाइ छ । कार्यक्रमको अध्यक्षता मैयादेवी कन्या कलेजका क्याम्पस प्रमुख भोजराज न्यौपानेले गर्नुभएको थियो ।