चितवन, १५ साउन । चितवनको नारायणगढमा व्यवसाय गर्दै आएका एक व्यवसायीले फाइनान्समा राखेको पैसा हराएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । नारायणगढमा कार डेकोर हाउस सञ्चालन गर्दै आएका छविलाल भण्डारीले आइसीएफसी फाइनान्स नारायणगढ शाखाबाट करिब १६ लाख रुपैयाँ हराएको भन्दै प्रहरीमा उजुरी दिएको बताएका छन् ।
भण्डारीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी आफ्नो व्यवसायको नाममा रहेको खाताबाट करिब एक महिनाको अवधिमा १५ लाख ९७ हजार नौ सय ३० रुपैयाँ हराएको बताउनुभयो । “असार २५ गते फाइनान्समा गएपछि मात्रै पैसा हराएको विषयमा थाहा पाएँ” उहाँले स्बिट नेपालसँग भन्नुभयो, “एक महिनाको अवधिमा १९ पटक गरी मेरो खाताबाट पैसा हराएको रहेछ ।” फाइनान्सलाई पैसा राख्न दिएको भन्दै उहाँले फाइनान्सबाट हराएको पैसा उसैले फिर्ता गर्नुपर्ने बताउनुभयो ।
पैसा हराएको थाहा पाएपछि आफूले प्रहरीमा खबर गरेको भए पनि अहिलेसम्म गुमेको रकम फिर्ता हुन नसकेको भण्डारीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय चितवनका मुद्दा शाखा प्रमुख शैलेन्द्र खड्काले फाइनान्सको शाखा प्रबन्धकको नाममा उजुरी आएको बताउनुभयो । प्रहरीले सहमति गराएर पैसा फिर्ता गराउन खोजेको भएपनि अब उजुरी दर्ता गरेर कानुनी प्रकृयामा जाने खड्काको भनाइ छ ।