चितवन, १३ साउन । रोट्रयाक्ट क्लब अफ भरतपुरको २०औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । साउन ११ गते शुक्रबारका दिन चितवन गार्डेन रिसोर्टमा भएको उक्त कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो ।
क्लबका वर्ष २०२३/२४ का अध्यक्ष लवि तिवारी नेतृत्वको कार्यसमितिले क्लबका वर्ष २०२४/२५ का अध्यक्ष सविन पौडेलको नेतृत्वमा रहेको कार्यसमितिलाई पद हस्तान्तरण गरेको हो । रोट्रयाक्ट डिस्ट्रीक्ट ३२९२ का डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ विक्रम क्षेत्री प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विमल क्षेत्रीको उपस्थिति रहेको थियो । डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ–इलेक्ट दिनेश गैरे, सहायक डिस्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ गोविन्द पराजुली, डिस्ट्रिक्ट ३२९२ का सचिव सुबिन खड्काका साथै जोन १४ का जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभ सुरज भन्डारी अतिथिका रुपमा सहभागी थिए ।
प्रबेश मिश्रले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुशान्त रेग्मी र सुधा रिजालले गरेका थिए । कार्यक्रममा नृत्यमार्फत स्वागत गरिएको थियो । पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा नयाँ कार्यसमितिका सदस्यले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । साथै क्लबका नयाँ सदस्यहरुका लागि पनि शपथग्रहण गराइएको थियो ।
उक्त कार्यक्रममा क्लबका सदस्यहरूलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । उक्त कार्यक्रमको क्रममा अतिथिहरुले संयुक्त रुपमा रोट्रयाक्ट क्लब अफ भरतपुरको वार्षिक पुस्तिका ‘यात्रा’ र क्लब टि–सर्टको विमोचन गरेका क्लबका सचिव सुशान्त रेग्मीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले रोट्रयाक्ट क्लबको गठन र यसमा सक्रिय सहभागिताले युवावर्गमा अनुशासन, नेतृत्व क्षमता र समाजसेवामा थप टेवा पुगेको बताए । विशेष अतिथि विमल क्षेत्रीले विगतका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्दै नवगठित कार्यसमितिका अध्यक्षलगायत सबै पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।