युवराज क्षेत्री, नवलपुर, ११ साउन । नवलपुरको गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरले मौलाकाली केबलकारको प्रचार सामग्री राखेको छ । मन्दिरको वेबसाइट जसले खोल्छ उसलाई लाग्छ सो वेबसाइट मन्दिरको हो वा केबलकार कसको हाे ।
मन्दिरकाे वेबसाइट खाेलेपछि वेबसाइट कसको हो भनेर सेवाग्राही नै झुक्किने अवस्था छ । मन्दिर एउटा धार्मिक संस्था हो तर, केबलकार आईएमई ग्रुपले चलाएको एउटा व्यवसाय हो । निजी व्यवसायलाई प्रोत्साहन हुने गरी धार्मिक संस्थाले विज्ञापन राख्नुमा कसको बदमासी होला ? यसैमाथि अहिले मन्दिर नै ओझेलमा पार्ने गरी माैलाकालीकाे डाँडामा होटल सञ्चालन गर्न लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
मन्दिरको गृहपृष्ठ (होमपेज) खुल्नेवित्तिकै विभिन्न विषयसूचीहरु राखिएको छ । साइट खुलेपछि गृहपृष्ठ, हाम्रो बारेमा, सूचना, समाचार, कार्यक्रम बुकिङ तथा केबुलकार भन्ने विषयसूची राखिएको छ । केबुलकारमा क्लिक गरेपछि त्यहाँ केबलकारको सबै विवरण राखिएको छ । त्यहाँ टिकट शुल्क, पाउने छुट, केबलकार खुल्ने सबै राखिएको छ ।
मन्दिरको वेबसाइटमा मन्दिरको बारेमा कम तर निजी क्षेत्रको केबलकारकाे बारेमा अत्यधिक सूचना राखिएको छ । यसबारेमा धार्मिक सेवा समिति मौलाकाली मन्दिरका कार्यवाहक अध्यक्ष खगराज कँडेलले आफूलाई जानकारी नभएको बताए । ‘हामीले मन्दिरको बारेमा जानकारी दिनेगरी नयाँ वेबसाइट बनाएका छौँ’, उनले भने, ‘त्यहाँ मन्दिरका कुरामात्रै राख्न भनेका छौँ, निजी क्षेत्रको बारेमा राखिँदैन ।’ कार्यवाहक अध्यक्षको भनाइ र वेबसाइटमा भएको विवरण फरक देखिएको छ । (जुन हामीले स्क्रिनसट गरेर यहाँ राखेका छौँ ।)
केबलकारको विज्ञापन राखिएको मन्दिरको वेबसाइट मन्दिरले हालैमात्र सूचना जारी गरेर निर्माण गरेको वेबसाइट हो । यस वेबसाइट आभासले डिजाइन गरेको भनेर वेबसाइट बनाउने कम्पनीको बारेमासमेत राखिएको छ । सार्वजनिक संस्थाको साइटमा सरोकारवालालाई जानकारी नदिइ केबलकारको सूचना कसरी राखियो ? कि वेब साइट निर्माण कम्पनीले राख्यो अथवा मन्दिरका व्यक्तिले आफ्नो निहित स्वार्थ पूरा गर्न राखेका हुन् ? यस विषयमा थप जानकारी लिन वेबसाइट निर्माण सम्बन्धी काम हेरेका धार्मिक सेवा समिति मौलाकाली मन्दिरका सदस्य राजेन्द्र गौडेललाई फोन गर्दा उनले फोन उठाएनन् ।
मौलाकालिका मन्दिरको वेबसाइटमा केबलकारको प्रचार, कसले गर्यो बदमासी ?
मौलाकालिका मन्दिरको वेबसाइटमा केबलकारको प्रचार, कसले गर्यो बदमासी ?

तपाईको प्रतिक्रिया