नवलपुर, ११ साउन । केही दिन अगाडि चितवनको सिमलतालमा पहिरोले बगाएको बसका दिवङ्गत यात्रु तथा त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा दिवङ्गत भएका यात्रुको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ ।
दिवङ्गतहरुको सम्झनामा गैँडाकोट नगरपालिका–४ मा रहेको ‘युवा क्लब गैँडाकोट–४’को आयोजनामा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको क्लबका कोषाध्यक्ष पुजन घिमिरेले जानकारी दिए । विमान दुर्घटनाका मृतकहरुको शव भेटिएपनि सिमलतालको पहिराले बगाएको बसका २४ यात्रुको मात्रै शव प्राप्त भएको छ । दिवङ्गत भएका सबै यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसहित दीप प्रज्ज्वलन गरिएको घिमिरेले बताए ।
साउन ९ गते सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा गत असार २८ गते दुईवटा यात्रुबस पहिराले बगाएर त्रिशूलीमा खसाल्दा कम्तिमा ६२ यात्रु बेपत्ता भएका थिए । बसमा सवार तीन यात्रु त्रिशूली नदीमा पौडिएर बाँच्न सफल भएका थिए । पहिराको कारण त्रिशूलीमा बेपत्ता भएको बस र बाँकी यात्रुको खोजीकार्य जारी छ ।
युवा क्लब गैँडाकोट–४ का अध्यक्ष हिमाल शाही ठकुरीको अध्यक्षामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा वडाध्यक्ष तेजप्रसाद घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा टोलनाथ घिमिरे, कृष्णप्रसाद न्यौपाने, कृष्णप्रसाद पराजुली, नगर युवा सञ्जाल गैँडाकोटका अध्यक्ष रोशन दर्लामी,शारदा शाही, शोभाखर घिमिरे, रामचन्द्र घिमिरेलगायतको उपस्थिति रहेको थियो ।