साउन ६- बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल साढे ६ वर्षपछि सत्ताबाट बाहिरिएका छन् ।
प्रदेशको पहिलो कार्यकालको पाँच वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय चलाएका जम्कट्टेल प्रदेशको दोस्रो कार्यकालमा तीन पटकसम्म विश्वासको मत पाएर मुख्यमन्त्रीमा टिकेका थिए । १८ महिना मुख्यमन्त्री भएका उनी नयाँ सत्ता समीकरण नेपाली कांग्रेस र नेकपा एमालेको पोल्टामा पुगेपछि सरकारबाट बाहिरिएका हुन् ।
सत्ता साझेदार दल नेकपा एमालेले २४ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । जम्कट्टेलले मुख्यमन्त्री र मन्त्री गरेर आफू साढे ६ वर्षदेखि लगातार सत्तामा रहँदै प्रदेशको संवैधानिक अधिकार प्राप्तिका लागि लडेर आएको र अधिकार पाउने बेलामा सरकार गुम्न पुगेको बताए ।
मुख्यमन्त्री कार्यालयमा आइतबार बिहान सरकारका उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशलाई अधिकारसम्पन्न बनाइ विकासको गतिमा अगाडि बढाउन आफूले भूमिका खेलेको बताए । नयाँ सत्तासमीकरण बनेसँगै बागमतीमा अब चौथोपटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्नेछ । मुख्यमन्त्री कांग्रेसलाई दिने सैद्धान्तिक सहमति बनिसकेको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक मधुसुदन पौडेलले जानकारी दिए । उनका अनुसार एमालेले ७ वटा मन्त्रालय मागेको छ ।