काठमाडौं- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी भएको हो ।
सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि सेटको अन्त्यतिर अंक सुम्पेको थियो । दोस्रो सेटमा एक समय १६-१४ को अग्रतामा रहेको नेपाल अन्त्यतिर भने लय गुमाउन पुग्यो । प्रशिक्षक जगदीश भट्टले तेस्रो सेटमा दोस्रो रोजाइको खेलाडीलाई अवसर दिए ।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । दोस्रो खेल सोमबार हुनेछ ।
साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।
नेपाली टोली
अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।