काठमाडौं – काभा यू२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ ।
माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलंकासँग ३-१ को पराजय बेहोर्यो । पहिलो सेट श्रीलंकाले २५-२० ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट नेपालले २६-२४ ले जित्दै पुनरागमन गर्यो । तेस्रो सेटमा बिर्सनलायक प्रदर्शन गरेको नेपाल २५-११ ले पछि पर्यो । चौथो सेटमा २५-१८ ले गुमाउँदै नेपाल हार बेहोर्न पुग्यो ।
प्रतियोगिताको पहिलो खेलमा नेपाललाई रिसिभ र डिफेन्सले निकै समस्या दियो । विपक्षीको आक्रमण भन्दापनि नेपालले आफ्नो गल्तीमा अंक गुमाएको थियो । आक्रमणमा भने तेस्रो सेट बाहेक नेपालले औसत प्रदर्शन गरेको थियो ।
प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानले माल्दिभ्सलाई ३-० ले पराजित गरेको थियो । अंक तालिकामा किर्गिस्तान र श्रीलंकाको ३-३ अंक भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् ।
नेपालले अब शुक्रबार दोस्रो खेलमा किर्गिस्तानको सामना गर्नेछ । शनिबार अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनलमा अंक तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली एक आपसमा भिड्नेछन् ।