३७ वर्षीय जिरुडले यसअघि मेमा नै जर्मनीमा हुने युरोपियन च्याम्पियनसिप फ्रान्सका लागि आफ्नो अन्तिम प्रमुख प्रतियोगिता हुने बताएका थिए । इंग्लिस क्लब आर्सनल र चेल्सी तथा इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड जिरुडले अब आफ्नो देशबाट नखेल्ने पुष्टि गरेका हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा उनले लेखे, ‘डरलाग्दो क्षण आइपुगेको छ, त्यो हो फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण ।’
‘फ्रान्सेली राष्ट्रिय टोलीसँगको मेरो करियर सधैं सहज रहेन । मैले कहिलेकाही शंका गरेको छु र आलोचना पनि भोगेको छु, तर मैले टोलीलाई विश्वास गर्न छाडिन । कडा परिश्रम, नम्रता र प्रार्थनाले मलाई कठिन समयमा मद्दत गरेको छ । मेरी श्रीमती र मेरा चार छोराछोरीहरूको अथक सहयोगको लागि धन्यवाद, मैले सधैं लड्न र प्रत्येक पटक अझ बलियो भएर फर्कने शक्ति पाएको छु,’ उनले सन्यासबारे लेखेका छन् ।
जिरुड फ्रान्सको सर्वाधिक गोलकर्ता हुन् । उनले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप दौरान थिएरी हेनरीले राखेको कीर्तिमानलाई उछिनेर सर्वाधिक गोलकर्ता बनेका थिए । उनले फ्रान्सबाट १३७ खेलमा ५७ गोल गरेका छन् । हेनरीको ५१ गोल छ । हालका कप्तान केलियन एमबाप्पेले ८४ खेलमा ४८ गोल गरेका छन् ।
ओलिभिएरले थुप्रै उपलब्धि हासिल गरेर फ्रान्सेली टोली छाड्ने निर्णय गरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले बताएका छन् । ‘सामान्यतया, म उनको अटल प्रतिवद्धताबाट प्रभावित छु । त्यसको लागि, हामीले उनलाई प्रशंसा धन्यवाद भन्नै पर्छ ।’
‘फ्रान्सेली राष्ट्रिय टोलीमा ओलिभिएरका लागि त्यति सहज भएन । तर उनले कहिल्यै हार मानेनन्, सधैं आफ्नो गम्भीरता, व्यावसायिकता र लडाइँको भावना देखाए,’ डेसच्याम्पले थपे ।
फ्रान्स गतसाता स्पेनसँग २–१ ले पराजित हुँदै युरो २०२४ को सेमिफाइनलबाट बाहिरिएको थियो । उक्त खेलमा जिरुड दोस्रो हाफमा मैदान छिरेका थिए । युरो २०२४ मा उनले वैकल्पिक खेलाडीको रुपमा मात्रै खेल्ने अवसर पाएका थिए ।
यस समरसँगै एसी मिलान छाडेका जिरुड अमेरिकी मेजर लिग सकर क्लब एलएएफसीमा अनुबन्ध हुने भइसकेको छ । उनले जुलाई १८ मा आधिकारिक रुपमा एलए एफसीसँग सम्झौता गर्दैछन् ।