एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एमबाप्पे मंगलबार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रुपमा सार्वजनिक भएका छन् ।
एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल गएका हुन् । २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रियलको रंगशालामा ८० हजारभन्दा बढी समर्थक उपस्थित थिए ।
पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक फ्रेन्च लिग जितेका थिए । उनले पेरिसस्थित क्लबबाट ४ फ्रेन्च कप, २ फ्रेन्च लिग कप र ३ फ्रेन्च सुपर कप पनि जिते । एमबाप्पेले क्लबमा आफ्नो सात सिजनको अवधिमा पिएसजीका लागि ३ सय ५ खेल खेल्दै २ सय ५५ गोल गरे ।
उनले रियल खेलाडीको रूपमा ९ नम्बरको जर्सी लगाउनेछन् । रियलको नम्बर ९ जर्सी लगाउने अन्य फुटबलरहरूमध्ये क्रिस्टियानो रोनाल्डो (उनी पछि नम्बर ७ जर्सीमा परिवर्तन भए), रोनाल्डो नाजारियो (ब्राजिलियन रोनाल्डो), करिम बेन्जेमा थिए ।
एमबाप्पेको रियलसँग अनुबन्ध गत महिना पुष्टि भएको थियो । तर सुपरस्टार फुटबलर फ्रान्ससँग अन्तर्राष्ट्रिय प्रतिबद्धता भएकाले आज मात्र सार्वजनिक भएका हुन् ।एम्बाप्पेले जर्मनीमा भएको युरो २०२४ मा फ्रान्सको नेतृत्व गरेका थिए ।
एमबाप्पेका लागि युरो कप भने कठिन रह्यो ।प्रतियोगिताको प्रारम्भिक चरणमा उनको नाकमा चोट लागेको थियो भने यसपटक युरोमा उनले १ गोल मात्र गरे । फ्रान्स सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो ।