काठमाडौं – नेपाल भलिबल संघले महिला यु २० राष्ट्रिय टोलीका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
काभा यु २० महिला च्याम्पियनसिपमा भाग लिन जाने टोलीको विदाईका क्रममा संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले युवा टोलीका खेलाडीलाई एक वर्षका लागि जनही मासिक १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
अमेरिकामा बस्न भलिबलका पूर्व खेलाडी र भलिबलप्रेमीहरुको सहयोगमा हामीले सिनियर महिला र पुरुष टोलीका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ दिन सुरु गरेका थियौं, चन्दले भने,‘ युवा टोलीको मनोबल उच्च बनाइ राख्नका लागि हामीले अहिले एक वर्ष सम्म मासिक १ हजार रुपैयाँले दिने निर्णय गरेका हौं ।’ युवा टोलीमा १२ खेलाडी छन् ।
माल्दिभ्समा यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोली मंगलबार त्यसतर्फ गएको छ । च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ ।
नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ । साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् ।

यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ महिला भलिबल च्याम्पियनसिपको प्रर्दशनका आधारमा युवा टोली संघले छनोट गरेको हो । जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।
यु–२० महिला टोली
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टोली व्यवस्थापक – जुनु पुन