चितवन साइकल राइडर्स क्लबले अंग्रेजी नयाँ वर्ष २०२४ को शुभकामना आदानप्रदान सहित सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका सल्लाहकार श्री राजन पिया, आजीवन सदस्य श्री इन्द्र रेग्मी र कोषाध्यक्ष श्री जनक कुमार ढकाल हालै सम्पन्न चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा) को सातौं वार्षिक साधारणसभामा तथा चौथो अधिवेशनबाट क्रमशः अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचित हुन सफल हुनु भएकोमा कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो।
सोही अवसरमा चितवन साइकल राइडर्स क्लबको प्रतिनिधित्व गर्दै क्लबका कार्यसमिति सदस्य श्री समर श्रेष्ठ सहित सदस्यहरू क्रमशः प्रमित मगर, रोनिश कर्माचार्य र कृष्ण घिमिरेले हालै साहसिक साइकल यात्रा गर्दै आठौँ दिनमा सफलतापूर्वक अन्नपूर्ण सर्किट साइकल यात्रा (संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल र संसारकै अग्लो स्थानमा रहेको थोरङ्ला पास) पुरा गर्न सफल हुनुभएकोमा उहाँहरूलाई पनि हार्दिक बधाई सहित आउँदा दिनहरूमा पनि यस्तै साहसिक साइकल यात्राको निरन्तरताको शुभकामना सहित सम्मान गरिएको थियो।
उक्त अवसरमा साइकल यात्रीको तर्फबाट प्रमित मगरले साइकल यात्राको दौरानका अनुभवका साथै रोमाञ्चक अनुभूतिहरू सुनाउनु भएको थियो भने चितवन अटोमोबाइल्स डिलर्स एसोसिएसन (काडा) का निर्वाचित अध्यक्ष श्री राजन पियाले राइडर्स क्लबसँगको सहकार्यमा साहसिक खेल गतिविधिहरू गर्नको लागि पहल गर्ने प्रतिबद्धता गर्नुका साथै यहि आउँदो पौष २१ र २३ गते सम्पन्न हुन गइरहेको उद्योग वाणिज्य संघ चितवनको ५७ औँ साधारणसभा तथा अधिवेशनमा आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा सहित सबैको साथ, समर्थन र सहयोगबाट आफू निर्वाचित हुने विश्वास व्यक्त गर्दै आफू निर्वाचित भएपश्चात उ. वा. संघ चितवनमा आवद्ध व्यवसायीहरुको हक हितको लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
चितवन साइकल राइडर्स क्लबका उपाध्यक्ष श्री धर्मराज सापकोटाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम क्लबका अध्यक्ष श्री पदम बहादुर बानियाँको सभापतित्वमा सम्पन्न भएको थियो।