भरतपुर । उद्योग वाणिज्य संघ चितवन, महिला उद्यमी विकास समितिकाे आयोजनामा तीन दिने महिला उद्यमी मेला सुरु भएको छ । असाेज ८ गतेसम्म चल्ने उक्त मेलामा हस्तकला, लघु उद्यम, चित्रकला लगायतका वस्तुहरुको प्रदर्शनी गरिएकाे छ ।
प्रतिनिधि सभा सांसद अञ्जनी श्रेष्ठले शनिबार एक औपचारीक कार्यक्रमका मेलाको उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले चुलो चौकोबाट अगाडि बढिरहेका महिलालाई ब्रेक लगाउने प्रयास भइरहेको बताइन् ।
‘बामे सर्दा सर्दै महिलाहरु २१ औँ शताब्दीसम्म आइपुग्दा ठूलो ठाउँमा पुगेका छौँ यद्यपी अझै पनि चाहेको ठाउँमा पुग्न सकेका छैनौँ,’ उनले भनिन्, ‘महिलालाइै देखाउन मात्र पदमा पुर्याइएको छ । महिलालाइ अगाडी बढ्न पर्छ भन्ने गरिएपनि खुट्टा तान्ने प्रवृत्ति पनि बढिरहेको छ ।’
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले देशको जनसंख्यालाई जनशक्तिको रुपमा रुपान्तरण गर्नु पर्ने बताए । ‘सरकारको काम बजारमा मागको अवस्था सिर्जना गर्ने हो । मागले रोजगारी सिर्जना गर्छ, उनले भने, देशमा उत्पादित हरेकको सिपलाई प्रोत्साहन गर्नुपर्छ ।’
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले देशको आधाभन्दा बढि जनसंख्या महिला भएकाले महिला आर्थिक क्षेत्रमा आउँदा मात्रै देशको आधा विकास हुन सक्ने बताए । महिलाहरू घर भन्दा बाहिर आएर व्यवसाय र उद्यमशिलतामा अगाडी बढ्नुपर्छ भनेर प्रर्दशनी आयोजना गरिएको उनले बताए ।
‘धर्मग्रन्थहरुमा महिलालाई भगवानकोरुपमा लिएपनि वास्तविकतामा अवला भन्ने सोच छ,’ उनले भने, ‘उक्त सोच हटाउन महिला शसक्तिकरण उद्यमशिलताबाट मात्र सम्भव हुन्छ भन्ने प्रर्दशनीको प्रमुख उद्धेश्य हो ।’