चितवन, भदौं २४-
एमाले निकट अनेरास्ववियु चितवनले माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको सरसफाइ गरेको छ । अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको टोलीले आज मन्दिर परिसरको सरसफाइ गरेको हो ।
सरसफाइमा सहभागी नेता तथा कार्यकर्ताहरुले मन्दिर क्षेत्र वरिपरीको घाँस काट्नुका साथै वरिपरि फालिएको प्लास्टिकजन्य फोहोर टिपेका थिए । अनेरास्ववियुको सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिरको सरफाइ गरिएको अनेरास्ववियु चितवनका अध्यक्ष आचार्यले बताए । उनले आजभोलि अनेरास्ववियु चितवनले विभिन्न रचनात्मक कार्यहरु गरिरहेको पनि जानकारी दिए ।
सरसफाइ अभियानमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष महेश सापकोटा, वीरेन्द्र क्याम्पसका उपाध्यक्ष सन्दिप अधिकारी, माडी नगरपालिकाका अनेरास्ववियुका नगर संयोजक राकेश चौधरीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।



