चितवन, भदौं १८-
जिल्ला तथ्यांक कार्यालयमा चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले तीन वर्षदेखि महिला कर्मचारीमाथि यौनशोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बिगत तीन वर्षदेखि यौन शोषण गर्दै आएका उनले गर्भवती बनाएर चार महिनाको गर्भ जर्बजस्ती पतन गराउन खोजेको आरोपमा चितवन प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले आफ्नी आमाको ठाउँमा खाना बनाउने काम गर्न कार्यालयमा आएकी महिलालाई कार्यालय प्रमुख भण्डारीले तीन वर्षदेखि यौनशोषण गर्दै आएको पाइएको बताइन् । उनले भनिन्, ‘ कार्यालय सहयोगी गर्भवती भएपछि अस्पताल रोडको प्रगति क्लिनिकमा लगिएको र क्लिनिकले ४ महिनाको गर्भ पतन गराउन नसकेपछि भरतपुर अस्पताल पु¥याइएको पाइयो । पीडित महिलालाई भरतपुर अस्पतालको आईसीयूमा राखेर उपचार गरेको अवस्था छ ।’ उनले ती कार्यालय सहयोगी सुस्त मनस्थितिको विवाहित महिला रहेको बताइन् । क्लिनिकमा ६ दिनअघि गर्भपतनको लागि पुगेकी उनलाई औषधि खुवाएर गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि भदौ १३ गते राति भरतपुर अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । गर्भ राम्रोसँग नगएकोले अस्पतालमा लगेर महिलाको पाठेघर पुनः सफाइ समेत गरिएको बताइएको छ ।
तथ्यांक कार्यालय प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार प्रहरीले जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिइन् । पूर्वी नवलपरासीको सुनवलका स्थायी बासिन्दा ४४ वर्षीय भण्डारी कार्यालयमा माथि बस्ने र महिला कर्मचारी तल बस्ने भएकोले हाकिमले आफ्नो अनुकुल कर्मचारीमाथि यौन शोषण गर्ने गरेको तथ्यांक कार्यालयका कर्मचारीहरुले बताएका छन् ।
Source Narayani online



