गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा यहि भाद्र २० गते नेवार समुदायले रोपाइँ जात्रा निकाल्ने भएका छन् । नेवा:पुच गैँडाकोटको आयोजनामा भाद्र २० गते गैँडाकोटमा रोपाइँ जात्रा निकाल्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

परम्परागत रुपमा निकालिदै आएको रोपाईजात्राको आयोजकमा नेवा पुच गैँडाकोट र सहआयोजकमा गैँडाकोट नगरपालिका रहेको रोपाइँ जात्रा २०८० का प्रवक्ता अमृत श्रेष्ठले जानकारी दिनुभयो । रोपाइँ जात्रामा नेवार समूदाय सहित करिव ३ हजार नगरवासी सहभागि हुने अनुमान आयोजकले गरेको छ ।

नेवा:पुच गैँडाकोटका अध्यक्ष रेशमलाल श्रेष्ठले रोपाइँ जात्रामा पञ्चे बाजाको तालमा गोरु जोत्ने, खोक लगाउने, धान रोप्ने गर्नुका साथै रोपाइँमा गाइने वालीगीत गाएर महिला तथा पुरुषहरु छमछमी नाच्दै आफ्नो सँस्कृति र कला संरक्षणका लागि लाग्ने बताउनुभयो । त्यसका साथै रोपाइँ जात्रामा पञ्चायत कालका साहू महाजनको झल्को मेटाउने गरी छाता ओडेर अगि पछि सहयोगी राखेर रोपइँ हेर्ने साहु, पुलिस, नोकर चाकर ,जोगी, बाउसे बन्नुका साथै स्थानीय युवायुवतीहरुले भजन किर्तन समेत गर्नेछन् ।
भाद्र २० गते विहान ८ वजे गैँडाकोटको नारायणी नदी किनारबाट सुरु भएको होपाचु सहितको र्याली गैँडाकोट नगरपालिका अघिसम्म पुगेर दिउसो हुने कार्यक्रमका लागि औपचारिक निमन्त्रणा गर्ने कार्यक्रम रहेको छ । सोहि दिन दिउसो २ वजेपछि गैँडाकोटको फेम्ली क्याफेमा आयोजना हुने विशेष कार्यक्रममा नेवार समूदाय सहित अन्य आमन्त्रीत पाहुनाहरु सहभागि हुने कार्यक्रम रहेको छ ।
रोपाइँ जात्रा सम्पन्न गर्न करिव ४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । नेवा:पुच गैँडाकोटका अध्यक्ष रेशमलाल श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गैँडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, जात्रा ब्यवस्थापन समितिका संयोजक पूर्ण नारायण प्रधान लगायतले बोल्नुभएको थियो ।




