चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनललाई नमुना बस पार्कको रुपमा विकास गरिने बताएकी छन् ।भरतपुर –९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन गर्दै मेयर दाहालले नमुना बनाउन अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको बताएकी हुन् ।
बसपार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भइरहेको मेयर दाहालले बताइन् । सघन सहरी विकास मन्त्रालयबाट १० करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उनले उल्लेख गरिन् । बस पार्कको रंग रोगन, कालो पत्रे, हरियाली गराउने कामसँगै सरसफाइको कामलाई एक साथ अगाडि बढाइएको जानकारी दिए ।
नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उनको भनाइ छ । जिम्मेवारीपूर्ण ढंगबाट दैनिक बसपार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि उनले राखिन् । महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन् ।
विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ । करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिइन् । संस्थाले ३० कठ्ठामा फूल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ ।