काठमाडौं,साउन ९-
मंसिर ४ मा सम्पन्न निर्वाचनमा उम्मेदवाहरुले गरेको खर्च विवरण सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले १५ हजार रुपैयाँ जरिवाना गरेको छ। निर्वाचन आयोगमा विवरण बुझाएर पनि सार्वजनिक नगरेकालाई उक्त जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन खर्च विवरण बुझाए पनि सार्वजनिक नगर्नेमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता विनोद चौधरी, काठमाडौं–४ मै थापासँग प्रतिस्पर्धा गरेका एमाले उम्मेदवार राजन भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सोविता गौतम रहेकी छिन्। गौतमकी प्रतिष्पर्धी माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पनि जरिवाना गरिएको छ।
यसैगरी राप्रपाका वरिष्ठ उपाध्यक्ष काठमाडौं १ उम्मेदवार रवीन्द्र मिश्र, त्यहिँ प्रतिस्पर्धा गरेका एमालेका किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलेसमेत निर्वाचन खर्च सार्वजनिक नगरेको आयोगको भनाइ छ। प्रतिनिधि सभातर्फ १०३७ उम्मेदवार र प्रदेश सभातर्फ १३९८ उम्मेदवारालाई जरिवाना गराइएको हो।



