काठमाडौं,साउन ९-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्। बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
सो विषयमा पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको बताइएको छ। अनुसन्धान पछि आवश्यक कारबाही गरिने प्रवक्ता ढकालले बताए। ‘पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ,’ प्रवक्ता ढकालले भने, ‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ। अनुसन्धान अनुसारपछि थप कारबाही गरिनेछ।’
सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।



