काठमाडौं । मनाङ एयरको ९ एन–एएमभी कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनाग्रस्त हुँदा चालकसहित ६ जनाको ज्यान गएको छ ।
माउन्टेन फ्लाइटका लागि गएका ५ मेक्सिकन नागरिक चढेको हेलिकप्टर क्याप्टेन चेतबहादुर गुरुङले उडाएका थिए । हेलिकप्टर माउन्टेन फ्लाइटबाट फर्किदै गर्दा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा चालकसहित ६ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी राजेश बास्तोलाले जानकारी दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय मातहत रहेको उद्धार समन्वय समितिका अनुसार हेलिकोप्टरका क्याप्टेन चेतबहादुर गुरुङ, मेक्सिकन नागरिकहरु सिफुन्तेस जी फर्नान्डो, सिफुन्तेस जी मारिया होसे, रिन्कोन स्माइल, गोन्जालेज ओलासियो लुज र गोञ्जालेज एब्रिकको ज्यान गएको छ ।
चार वर्षअघि लुक्लामै दुर्घटनामा परेर बाँचेका थिए क्याप्टने गुरुङ
मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार हेलिकप्टर उडाउने क्याप्टेन चेतबहादुर गुरुङ निकै अनुभवी तथा साहसी पाइलट हुन् । उनले कोभिडका बेला सयौं सिकिस्त बिरामीलाई हेलिकप्टरमा उद्धार गरी अस्पतालसम्म पुर्याउने जोखिमपूर्ण काम गरेका थिए । गुरुङ सन् १९९८ अगाडिदेखिकै अनुभवी पाइलट रहेको उनले खुलाए ।
‘उनले शुरूमा ठूलो हेलिकप्टर एमआई १७ उडाएको हो । त्यसपछि गोर्खा एयरलाइन्स, श्री एयरलाइन्स, इको एयर (विदेशी कम्पनी) हुँदै २०१४ मा मनाङ एयरसँग उहाँ आबद्ध हुनुभएको हो,’ न्यौपानेले भने । उनी चार वर्षअघि समिट एयरको विमानले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिँदा बाँच्न सफल भएको समेत न्यौपानेले खुलाए । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको जहाजले मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा समिट एयरका को–पाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको थियो । उक्त दुर्घटनामा परी समिट एयरका क्याप्टेन आर.बी. रोकाया र मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ घाइते भएका थिए । ‘अहिले दुर्घटनामा पर्नु भएको क्याप्टेन गुरुङ यसअघि दुर्घटनामा परी बाँच्नु भएको थियो,’ न्यौपानेले सुनाए, ‘त्यतिबेला उहाँको खुट्टामा चोट लागेको थियो । ३÷४ महिना रेस्ट गरेर फिट भई पुनः फ्लाइट गरिरहनु भएको थियो ।’
क्याप्टेन गुरुङ मनाङ एयरको ‘फ्लाइट सेफ्टी’ का प्रमुख पनि हुन् । ‘उहाँ राम्रो पाइलट हो । सचेत एव सावधान पनि हो । के गर्न हुने, के गर्न नहुने भन्ने कुरा उहाँलाई राम्रो जानकारी थियो,’ उनले भने, ‘तर, दुर्भाग्यवश आज के कति कारणले दुर्घटना भयो, अहिलेसम्म खुलेको छैन, पछि थाहा होला ।’ क्याप्टेन गुरुङ पोखराका हुन् । उनका श्रीमती र एक छोरी छन् ।
Source : nayapage.com



