विजयी चितवन –
उपहार गोलमा जित हात पार्दै भरतपुर ८ गौरीगन्ज चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न खेलमा गौरीगन्जले देवीटार एफसीलाई ३-२ ले निराश बनायो । प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा नै गौरीगन्जले अग्रता लिएको थियो ।
११ औं मिनेटमा देवीटारले बराबरी गोल फर्कायो । १९ औं मिनेटमा देवीटारले अग्रता लियो । दोस्रो हाफको ३२ औं मिनेटमा गौरीगन्जले बराबरी गर्यो । दोस्रो हाफमै गौरीगन्ज भाग्यशाली साबित भयो । देवीटारको खेलाडीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि गौरीगन्ज ३-२ ले विजयी भयो । गौरीगन्जका अभिषेक महतो म्यान अफ दि म्याच चुनिए ।
मंगलबार चौधरी मोटर्स खैरहनी र यूनिक एफसी भिड्ने आयोजक अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा प्रतियोगिता आयोजना भएको हो । १९ गतेसम्म हुने प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।