चितवन, २५ पुस ।
नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव–२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले चितवन महोत्सवले व्यवसायीको आर्थिक उन्नति गर्ने बताए ।


कोरोना र बैंकको व्याजदरका कारण सिथिल बनेको जिल्लाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउन मद्दत पुग्ने श्रेष्ठको विश्वास थियो । बागमीत प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक उन्नतीका लागि कामहरु गरिरहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यवसायीलाई परेको समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा व्यवसाय दर्ताको काम अनलाइनबाट गर्ने प्रविधिको विकास गरेको भन्दै मन्त्री श्रेष्ठले घरमै बसेर व्यवसाय दर्ता तर्दा बन्द गर्न सकिने बताए ।

पछिल्लो समय नेपालको हस्तकला व्यवसायले विदेशमा राम्रो व्यापार गर्न सफल भएको भन्दै उनले यस व्यवसायबाट आठ लाख बढीले रोजगारी पाएका बताए । हस्तकला व्यवसायले बर्सेनि १२ अर्ब रुपैयाँ भन्दा बढीको सामान निर्यात गर्ने गरेको भन्दै उनले साना, मझौला र हस्तकलाको व्यवसायबाट नेपाल आत्मनिर्भर हुने अवस्थामा पुगेको बताए ।





