चितवन – नारायणगढ–बुटवल सडक विस्तारको काममा प्रगति नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको छ । ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि काममा प्रगति नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । नारायणगढ–बुटवल सडक योजना कार्यालयले यससम्बन्धी सार्वजनिक सूचना प्रकाशन गर्दै ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । ठेक्का तोड्ने तयारीमा रहेको र कानुनी प्रक्रिया पूरा गर्न मात्र सूचना निकालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले बताए । पर्याप्त स्रोत ,साधन र जनशक्ति जुटाएर तीव्र गतिमा काम गरे ठेक्का जोगिने नत्र सिधै तोडिने उनले बताए । ठेकेदार कम्पनीलाई एक महिनाको चेतावनी दिइएको छ । सूचनामा एक महिनाभित्र काममा अपेक्षाकृत प्रगति नदेखिए सीधै ठेक्का तोडिने जनाइएको छ ।दसैंलाई दृष्टिगत गरी सडक सहज बनाउन भनिए पनि ठेकेदारले मर्मतमा कुनै चासो दिएका छैनन् । आगामी कात्तिक ९ सम्मलाई समय दिइएको हो ।
ठेक्काको म्याद सकिए पनि निर्माणमा कुनै प्रगति छैन । ठेक्का सम्झौता सकिँदा निर्माणको भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । यसको ठेक्का आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । यसअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । तर म्याद सकिँदा प्रगति २० प्रतिशत कट्न सकेको छैन । सडक भत्काएर अलपत्र पारिएपछि यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ ।करारको सर्तअनुसार कुनै पनि पक्षले काम नगरे सर्तबमोजिम कारबाही गरिने व्यवस्था रहेको आयोजना निर्देशनालयका आयोजना निर्देशक सुशीलबाबु ढकालले बताए ।
गत साउन २२ मा निर्णय गरेर पूर्वी खण्डमा ३८४ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको थियो । उक्त समयमा पनि काम गर्ने कार्यतालिका भदौ २ मा पेस गर्न भनिए पनि पछि मात्र पेस गरेको थियो ।
सडकको कुल दूरी ११३ किमि छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपैयाँ छ । जसअनुसार पूर्वी खण्डको ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ ठेक्का रकम रहेकामा अहिलेसम्म १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । पश्चिम ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ ठेक्का रकम रहेकामा ८९ करोड ५७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।



