जुम्ला र सल्यान — जुम्लाको तातोपानी–६ की बाचुकला बिष्ट सुत्केरी व्यथा सुरु भएपछि गत बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल आइन् । गाउँको स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसकिनेपछि उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।
उनले शल्यक्रिया गरेर २ छोरा जन्माइन् । तर सुत्केरी भएपछि उनको रक्तस्राव सुरु भयो । चिकित्सकले उनका आफन्तलाई २ प्वाइन्ट ‘बी पोजेटिभ’ रगत ल्याउन भने । आफन्तहरू रगतका लागि दिनभर भौंतारिरहे । केही सीप नलागेपछि बिष्ट सुत्केरी भएको ४ घण्टापछि सशस्त्र प्रहरीका लोकेन्द्र राना र प्रकाश थारूले रगत दिएर उनको ज्यान जोगाए । अहिले आमा र बच्चाको अवस्था सामान्य छ ।
तातोपानी–६ हियाखोलाका भक्त कामीकी श्रीमती दन्ताको फोक्सोमा मासु पलाएको थियो । शल्याक्रियाका लागि उनीहरू गत बिहीबार नै अस्पताल आए । चिकित्सकले शल्यक्रिया गरेपछि झन्डै एक किलो मासु निकालियो । तर रक्तश्राव भएपछि उनलाई ७ प्वाइन्ट रगत आवश्यक देखियो । ‘तत्काल कतै भेटिएन । गाउँको मान्छे भएकोले बजारमा चिनजान थिएन,’ भक्तले भने, ‘उनलाई चाहिएको बी पोजिटिभ रगत थियो, जेनतेन ४ प्वाइन्ट त भेटियो थप रगत नपाइएपछि सुरक्षाकर्मीले नै रगत दिए ।
विशेषज्ञ चिकित्सक शिक्षासम्मको पढाइ हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक नहुँदा अधिकांश शल्यक्रिया गर्नुपर्ने बिरामी रगत अभावमा छटपटिने गरेका छन् । जहाँ स्नातक तहमा ३ वर्षदेखि बीएमएस र बीपीएचको पढाइ भइरहेको छ । जसका लागि १०/१० जनाको कोटा तोकिएको छ । यसै वर्षदेखि प्रतिष्ठानले २० विद्यार्थीलाई एमबीबीएस पढाइरहेको छ । त्यस्तै बीएमएस जनरल नर्सिङ २० जना र बीफार्मेसी २० जनाले अध्ययन गरिरहेका छन् ।
स्नात्तकोत्तर तहमा ३ चिकित्सकले एमडीजीपी, ३ जनाले पेडाटिक्स र १/१ जनाले एनएसथेसिया तथा अर्थोपेडिक विषयको अध्ययन गरिरहेका छन् । तर रगत आवश्यक पर्दा सेना र प्रहरीको क्याम्पमा पुगेर हारगुहार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘जुम्लाका लागि त प्रहरी र सेना नै ब्लड बैंकजस्तै छन्,’ एक स्वास्थ्यकर्मीले भनिन्, ‘अस्पताल प्रशासनको पत्र लिएर गएपछि सेना र प्रहरीले रगत दिने व्यक्ति खटाइदिन्छन् ।’
झन्डै एक दशकअघि जुम्लामा नेपाल रेडक्रस सोसाइटीले रक्त सञ्चार सेवा केन्द्र स्थापना गरेको थियो । जसका लागि भवन बन्यो । केही समय रगत संकलनको पनि काम भयो । तर बिजुलीको अनियमितताका कारण दिगोरुपमा सञ्चालन हुन सकेन । सोसाइटीका उपसभापति जगदिश चौलागाईले बिजुली अभावकै कारण केन्द्र बन्द गर्नुपरेको बताए ।
‘पहिले यहाँ अप्रेसन हुदैनथ्यो, यहाँको रगत सुर्खेत पठाएर पनि बिरामीको उपचारमा सहयोग गर्थ्यौ,’ उनले भने, ‘अहिले अप्रेसन हुन्छ, तर रक्तसञ्चार केन्द्र छैन ।’ अहिले जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिए पनि केन्द्र स्थापनाका लागि कसैले पहल नगरेको उनको भनाइ छ । अहिले रक्त सञ्चार सेवा केन्द्रका लागि बनाएको भवनमा आँखाको उपचार भइरहेको छ । केन्द्रको लागि ल्याइएका उपकरण थन्किएर जीर्ण भइसकेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक डा. पुजन रोकायाले सानो स्केलको रगत अस्पतालमै राख्ने व्यवस्था मिलाइएको बताए । ‘दुई सय पोका सम्म रगत राख्न मिल्छ,’ उनले भने, ‘तर त्यो डाक्टर पढाउने अस्पतालका लागि पर्याप्त छैन ।’ उनका अनुसार अस्पतालमा हाडजोर्नी, स्त्रीरोग, बालरोग, नाक, कान, घाँटी, आँखा, छाला, डेन्टललगायतको जटिल प्रकारको शल्यक्रिया भइरहेको छ ।
गर्भवती अवस्थामा रक्तस्राव भएकी सल्यानको शारदा नगरपालिका–१२ डाँग्रीकी ३२ वर्षीया सीता बुढामगरलाई उनको आफन्तले एक साताअघि उपचारका लागि जिल्ला अस्पताल ल्याए । शल्यक्रियाबाट उनले ७ महिनाको बच्चा त जन्माइन् । तर शिशुको तत्कालै मृत्यु भयो । सुत्केरी भएपछि झन् उनीमा रक्तस्रावको समस्या देखिएपछि अस्पतालकी स्वास्थ्यकर्मी कोपिला रानाले रगत दिएर उनको ज्यान बचाइन् ।
गत आइतबार शारदा नगरपालिका–८ मार्केकी २१ वर्षीया पुनम सुनार गाउँकै स्वास्थ्यचौकीमा सुत्केरी भइन् । तर रक्तस्राव हुन थालेपछि आफन्तले जिल्ला अस्पताल सल्यान ल्याए । उनलाई पनि स्वास्थ्यकर्मी रानासहित २ सुरक्षाकर्मीले रगत दिएर बचाए । अहिले दुवैको अवस्था सामान्य छ ।
ब्लड बैंक नभएकाले अस्पतालको अन्तरंग विभागमा कसको रक्तसमूह कुन हो भनेर टाँसेर राखिएको र आवश्यक परे फोन गरेर बोलाउँदै रगत दिन लगाइरहेको अस्पतालकी अनमी शिखा श्रेष्ठले बताइन् । ‘दुर्घटनाका बिरामी आए त सिधै रिफर गर्नुको विकल्प छैन,’ उनले भनिन्, ‘तर पनि रगत पाएसम्म जटिल शल्यक्रिया सेवा पनि दिइरहेका छौं ।’



