नेपालीले अष्ट्रेलियामा नेपाली सवारी लाइसेन्सको दुरुपयोग गरेपछि अब नेपाली लाइसेन्सको आधारमा गाडी चलाउन नपाउने भएका छन् ।आगामी नोभेम्बरदेखि अष्ट्रेलियाको एनएसडब्लु राज्यमा नेपाली सवारी चालक अनुमति पत्र बाहकले गाडी चलाउन नपाउने भएका हुन् ।
यसअघि अष्ट्रेलिया बाहिरबाट आएका मानिसहरूले उनीहरूकै देशको लाइसेन्सबाट निर्वाध रूपमा गाडी चलाउन पाउँदै आएका थिए । तर, पछिल्लो समयमा बढ्दो सवारी दुर्घटना र लापरबाहीलाई ध्यानमा राखेर नोभेम्बरदेखि अस्ट्रेलियन राज्य सरकारले अन्य कुनै पनि विदेशी लाइसेन्सवाहकलाई सवारी चलाउन रोक लगाउने भएको हो ।
यो सँगै अन्तर्राष्ट्रिय लाइसेन्स होल्डरले नोभेम्बरबाट एनएसडब्लु राज्यमा गाडी चलाउन तीन महिना भित्र अस्ट्रेलियन लाइसेन्स लिनुपर्नेछ । अहिले हजारौं नेपाली विद्यार्थीले आफ्नो लाइसेन्सबाट निर्वाध रूपमा अस्ट्रेलियन शहरमा गाडी चलाउँदै आएका थिए । सरकारको नयाँ निर्णयले धेरैलाई अप्ठ्यारो पर्नसक्ने देखिएको छ ।
अस्ट्रेलियन लाइसेन्स लिन मापदण्ड पूरा गर्न, त्यसको प्रमाणीकरणदेखि धेरैखाले परीक्षणको सामना गर्नुपर्ने हुन्छ । जुन निकै झन्झटिलो र कठिन मानिन्छ । त्यति मात्र नभइ अस्ट्रेलियन सडक जरीवाना र लाइसेन्सको मेरिट प्वाइन्ट्समा समेत अन्तर्राष्ट्रिय लाइसेन्सको दुरूपयोग भएपछि कडाइका साथ नयाँ नियम लागू हुने भएको हो । यताको लाइसेन्सवाहकले आफ्नो लाइसेन्स बचाउन विद्यार्थीको लाइसेन्स दुरूपयोग गर्ने गरेको डेलिमेल समाचारमा उल्लेख छ।
नेपालसँगै चीन र भारतसहित अन्य मुलुकबाट अष्ट्रेलिया आएकाहरूले सवारी चलाउन अब अस्ट्रेलियन लाइसेन्स अनिवार्य लिनैपर्ने हुन्छ । धेरै नेपाली विद्यार्थीले नक्कली लाइसेन्सको प्रयोग गरी यहाँको सुविधाको गलत फाइदा उठाइरहेको प्रश्न उठिरहेको बेला यो नयाँ नीति सार्वजनिक भएको हो । यस्तै जर्मनी, बेलायत र अमेरिकाजस्ता मुलुकको सवालमा भने उताको लाइसेन्सले यता सहजै अस्ट्रेलियन लाइसेन्समा ट्रान्सफर हुने जनाइएको छ ।