तनहुँ –
जिल्लाको म्याग्दे गाउँपालिका-५ छाङपाटनमा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय टोपबहादुर कुमाल रहेका छन् ।
बिहीबार राति ८ बजेतिर सेती नदी किनारको सिसौको रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा कुमाल घाइते भएका थिए । उनलाई भिमादको शुभलक्ष्मी पोलिक्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो ।
कुमालको उपचारकै क्रममा शनिबार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।तनहुँको म्याग्दे गाउँपालिका ५, छाङपाटनका टोप बहादुर कुमाल मिस्त्री काम गर्दै आएका थिए ।
बिहान ७ बजे घरबाट काममा निस्कने उनी खाना खाएर पुनः काममै खटिन्थे, राति अबेरसम्म पनि घर आइपुग्थेनन् । मजदुरी काम गरेर परिवार पालिरहेका थिए । बुवाआमासहित श्रीमती समिक्षा, दुई छोरा र एक छोरी छन् ।



