काठमाडौं, साउन २७ –
श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रल्हाद कार्कीले दिएको जानकारी अनुसार पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२३ ईटियाहीका दिनेशप्रसाद यादवले आफनै २३ वर्षकी श्रीमती प्रतिमाकुमारी यादवको हत्या गरेको हो ।
उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेको भन्दै बिहान ४ बजे वडा प्रहरी कार्यालय श्रीपुरमा सूचना आएको थियो । त्यस लगतै श्रीपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको प्रहरीले जनाएको छ ।
यो पनी हेर्नुस
काठमाडौं, २७ साउन । नेपालको इतिहासमा सत्ताका लागि मारकाट नै भएको धेरै घटनाहरु उल्लेख छन् । प्रधानमन्त्री बन्न आफ्नै दाजुभाईबीच काटाकाट नै चलेको राणकालीन इतिहास लिखितमै छ । सत्तामा बसेपछि छाड्न नमान्ने र पालो कुरेर बस्नेहरुले या त लखेट्ने या त हत्या गर्ने घटनाहरु धेरै घटे ।
नेपालमा लोकतन्त्र त आयो तर सत्ताको स्वाद एकपटक चाखेपछि छाड्न नमान्ने प्रवृत्ति हावी भएको छ । तानाशाहको शासन रहेका मुलुकहरुमा जस्तो निर्वाचित प्रधानमन्त्रीहरु सत्ता नै छाड्न नमान्ने प्रवृत्तिका छन् ।
२०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । २०४७ सालको अन्तरिम संविधान ल्याए र चुनावपछि प्रधानमन्त्री बन्ने प्रचार समेत भयो । तर, आफ्नै दलको अन्तर्घातबाट भट्टराई पराजित भए । त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । उनले ३ वर्ष सत्तामा रहेपछि आन्तरिक विवादका कारण मध्यावधि निर्वाचन गरे । कोइरालाले पनि पार्टीकै अर्को नेतालाई सत्ता छाड्न तयार भएनन् । बरु मध्यावधिमा देशलाई लगे ।
मध्यावधिमा काँग्रेसले धक्का खायो । एमाले सबैभन्दा ठूलो दल बनेर ९ महिने अल्पमतको सरकार बनायो । मनमोहन अधिकारी प्रधानमन्त्री बने । उनीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेपछि संसद विघटन गराए । अधिकारी प्रधानमन्त्री पद सजिलै छाड्न तयार भएनन् । तर, अदालतले उनको मध्यावधि घोषणालाई असंवैधानिक ठहर गरिदियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री बने । पञ्चायतमा प्रधानमन्त्री बनिसकेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पालैपालो प्रधानमन्त्री बने । देशमा एकपछि अर्को प्रधानमन्त्री बन्ने क्रम चल्यो । कोइराला र देउवा पटक पटक प्रधानमन्त्री बने । २०५६ मा कृष्णप्रसाद भट्टराई दोस्रोपटक प्रधानमन्त्री बने । उनलाई हट्ने अवस्था बन्यो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहमा पनि सत्ताको महत्वाकांक्षा जाग्यो । उनले पनि मन्त्रिपरिषदको अध्यक्षको भूमिका निभाए ।
माओवादी जनयुद्ध चर्कियो । त्यसपछि देश शान्ति प्रक्रियामा गयो । गिरिजाप्रसाद कोइराला वृद्धावस्थामा फेरि प्रधानमन्त्री बने । संविधानसभाको पहिलो चुनावपछि प्रचण्ड प्रधानमन्त्री बने । प्रधानसेनापति प्रकरणले उनी राजीनामा दिन वाध्य भए ।
प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बने । झलनाथ खनाल पनि प्रधानमन्त्री बने । डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बने । दोस्रो संविधानसभा चुनावपछि सुशील कोइराला, केपी शर्मा ओली प्रचण्ड हुँदै शेरबहादुर देउवा प्रधानमन्त्री बने । नेताहरुबीच आलोपालो प्रधानमन्त्री हुने भद्र सहमति नै जस्तो देखियो ।
२०७४ को चुनावपछि केपी शर्मा ओली प्रधानमन्त्री बने । उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसद नै विघटन गरे । ओली प्रधानमन्त्री छाड्न तयार भएनन् । अदालती प्रक्रियापछि ओली हटे देउवा प्रधानमन्त्री बने ।
नेपाली राजनीतिमा यसरी प्रधानमन्त्री भएकाहरु त्यही पदका लागि मात्र दौडने र पदमा पुगेपछि सहजै नछाड्ने प्रवृत्ति देखिदैछ । बरु गणेशमान सिंहले प्रधानमन्त्री पदको प्रस्ताव नै अस्वीकार गरेको इतिहास छ ।
देशमा प्रधानमन्त्री भइसकेकामध्ये अधिकांश नेताहरु ७० कटेका छन् । लोकेन्द्रबहादुर चन्द ८० कटेका छन् । शेरबहादुर देउवा ८० पुग्न लागेका छन् । झलनाथ खनाल, माधव नेपाल र केपी शर्मा ओली ७० कटेका छन् । प्रचण्ड र डा. बाबुराम भट्टराई ७० को नजिक छन् ।
वृद्धभत्ता लिन उमेर पुगेका नेताहरु अझै प्रधानमन्त्रीको दौडमा छन् । उनीहरुमा राजनीतिबाट सन्यास लिने कुनै छाँटकाँट देखिदैन । नेपालमा प्रधानमन्त्री भइसकेकाहरुले बहुदलीय व्यवस्था आएपछि राजनीतिबाट सन्यास लिएको अहिलेसम्म सुनिएको छैन ।



