पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका-१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति एक जनाको मृत्यु भएको छ । गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयघा घर भई हाल मामाघर आएका १४ वर्षीय मनोज रेश्मीको डुबेर मृत्यु भएको हो ।
मामाघर नजिकै डमराई पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेहोस भएका थिए । बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो । जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
यो पनी हेर्नुस
मकवानपुर : युसाई प्रजा राक्सिराङ गाउँपालिका–८ मकवानपुरका वडाध्यक्ष हुन्। नागरिकतामा पनि उनको नाम युसाई प्रजा नै छ। गाउँघरमा भने हविल नामले बोलाइन्छ। कतै नागरिकताको नाम गाउँमा उच्चारण गर्न परे उनी हिच्किचाउँछन्। चेपाङ भाषामा ‘यू’ को अर्थ मुसा र ‘साई’ को अर्थ गेडा भन्ने हुन्छ।
नागरिकता बनाउँदा गाउँका गन्यमान्ने र कर्मचारीहरूले चेपाङ समुदायमा मुसासँग सम्बन्धित रहेर हेपेर बोलाउने नाम ‘युसाई’ राखिदिए। ‘अरूलाई त बरु त्यति थाहा हुन्न, तर गाउँघरमा यो नामले बोलाउँदा आफैंलाई अप्ठ्यारो लाग्छ’, उनले भने, ‘नामकै कारण आफू समाजमा हेलमेल गर्ने र अगुवाई गर्ने अवस्थामा छैन।’
सामान्य जीवन बिताउँदा त बरु सहजै थियो। तर, यही नाममा बाध्यताले चुनाव लड्नुपर्यो। आफूले नाम सच्याउन चाहे पनि सरकारी नीति नियमका कारण हालसम्म नसकेको उनले गुनासो गरे। ‘दैलेख घटनापछि हामीलाई पनि आशा जागेको छ, प्रमुख जिल्ला अधिकारीलाई भेटेर नाम सच्याइदिन हामीले अनुरोध गरेका छौं’, उनले भने।
मकवानपुरको पश्चिमी क्षेत्रका चेपाङ समुदायका उनी प्रतिनिधि पात्र मात्रै हुन्। उनीजस्ता दर्जनौं स्थानीय अपहेलित नामका कारण वर्षौंदेखि समस्यामा छन्। अर्का एक स्थानीयको नाम किदाङ (तामाङ भाषामा गुहुघारी) प्रजा राखिएको छ। विकेश चेपाङ हुनुपर्नेमा उनको नागरिकतामा पनि अश्लिल नाम राखियो। अहिले उनी नागरिकता देखाउन पनि हिचकिचाउँछन्।
पीउराम चेपाङलाई बीउराम बनाइएको जस्ता घटनाहरू मकवानपुरको चेपाङ समुदायमा छ्यापछ्याप्ती छन्। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्रीसमेत रहेका चेपाङ अगुवा सन्तबहादुर चेपाङ (प्रजा) यस्ता घटना चेपाङ समुदायमा धेरै रहेको बताउँछन्। ‘चेपाङ समुदायको नागरिकता वितरण गर्दा त्यस्तै अपमानजनक नामहरू राखेर वितरण गरिएको पाइएको छ’, उनले भने, ‘यस्ता अपमानजनक नाम परिवर्तनका लागि हामीले पहल गरिरहेका छौं। तर, अहिलेसम्म सम्भव भएको थिएन।’
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका कोषाध्यक्ष खेमबहादुर चेपाङले गाउँमा कुई (प्रजा) चेपाङ, सार्की चेपाङ (प्रजा), कामी चेपाङ (प्रजा) जस्ता नामहरू राखेर नागरिकता बितरण भएको बताए। ‘कुई भनेको चेपाङ भाषामा कुकुर हो’, उनले भने, ‘दैलेखमा भेटिएको कुकुर कामी नामको नागरिकता र मकवानपुरमा बितरित ‘कुई प्रजा (चेपाङ) को नागरिकताको नाम उस्तै अपमानजनक हो। भाषा मात्र फरक हो।’
चेपाङ समुदायका सयौं वृद्धवृद्धाको अझै पनि नागरिकता छैन। पुर्खादेखि नै नागरिकता नबनाएका र नागरिकता नलिएकाहरूलाई चेपाङ संघको पहलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले टोली खटाएर २०६४ को संविधानसभा चुनावअघि नागरिकता वितरण गरेको थियो। ‘म नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष भएका बेला नागरिकता टोलीमा आफ्नो समुदायको सहजीकरणका लागि सहभागी हुँदा मेरै आँखा अगाडि अपमानजनक नाम राखेर नागरिकता वितरण भएको थियो’, कोषाध्यक्ष चेपाङले भने, ‘नागरिकता वितरण गर्ने कर्मचारीले उक्त नाम भनेर बोलाउँदा सबै गलल्ल हाँसे’। ती महिला कालोनीलो भएर नागरिकता थाप्न बाध्य भइन्।’
चेपाङ भाषामा राखिएका नामहरूलाई गैरचेपाङ अगुवा र कर्मचारीले उल्टापुल्टा पारिदिँदा अपमानित नाम बोकेर हिँड्न बाध्य भएको राज्यमन्त्री सन्तबहादुरले बताए। ‘मेरै वडामा २०४४ सालमा बनाइएको एउटा नागरिकतामा नाम छ– ‘पिलो प्रजा (चेपाङ)’, उनले भने, ‘चेपाङ भाषामा पिलोक भनेर सिफारिस भएको नाम रहेछ त्यो। पिलोकको अर्थ कम उचाइ भएको मानिस भन्ने बुझिन्छ। तर, ‘पिलोक’ को अन्त्यमा लागेको ‘क’ हटाएर पिलो मात्र राखेर नागरिकता दियो।’
दैलेखमा कुकुर कामीको नाममा दिएको नागरिकताका बारेमा राष्ट्रिय बहसपछि उक्त नाम सच्याउन गृह मन्त्रालयले निर्देशन दियो । त्यसपछि अन्य अपहेलित नामहरू पनि सच्चिनेमा पीडित चेपाङहरू आशावादी छन् । राज्यमन्त्री सन्तबहादुर, वडाध्यक्ष हविल, सञ्चारकर्मी शिवकुमार काशी सहितको टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको ध्यानाकर्षण गराएका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले गृह मन्त्रालयको निर्देशन प्राप्त भएपछि त्यस्ता नागरिकताहरू सच्याउन प्रक्रिया अघि बढाइने बताए । उनले भने, ‘लिखित सर्कुलर आएपछि हामी आएका गुनासोहरू सम्बोधन गरेर नाम सच्याउने काम अघि बढाउँछौं ।’



