नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको दोहो¥याएको छ । जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो । समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ । बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने एउटा तिथि क्षय भएका कारण पर्व खप्टिएको बताएको छ । आज २६ गतेको सूर्योदय चतुर्दशीमा भए पनि बिहानको ९ बजेर ४४ मिनेट पश्चात पूर्णीमा सुरु भएको छ । र भोली २७ गते शुक्रबार बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमा तिथि रहने छ । सूर्योदयदेखि सुरु भएको तिथिलाई मान्यता दिने भएकाले २७ गते जनै पूर्णिमा मनाउने निर्णय गरेको हो । त्यस्तै ७ बजेर २५ मिनेटपछि प्रतिपदा सुरु हुने तर भोलिपल्ट २८ गतेको सूर्योदय द्वितिया तिथिमा हुने भएकाले २७ गते नै गाईजात्रा पर्व परेको पञ्चाङ्ग निर्णायक समितिले प्रष्ट पारेको छ ।
यसअघि १९९४, २०२४, २०३०, २०३१, २०६१, २०७०, २०५५, सालमा पनि यसपालिको जस्तै अवस्था परेको र एकैदिन जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाइएको समितिले स्मरण गराएको छ ।
रक्षाबन्धन वा जनैपूर्णिमाले सनातन वैदिक ब्राह्मणहरूलाई वर्षभरमा आत्मशुद्धिको अवसर प्रदान गर्छ । वैदिक परम्पराअनुसार वेदपाठी ब्राह्मणहरूका लागि श्रावण महिनाको पूर्णिमा सबैभन्दा ठूलो पर्वको रुपमा लिइन्छ । यस दिनलाई ब्राह्मणहरू श्रावणी उपाकर्मका रूपमा मनाउँछन् । यजमानहरूका लागि कर्मकाण्ड यज्ञ, हवन आदि गर्नुको साटो आफ्नै आत्मशुद्धिका लागि अभिषेक र हवन गर्दछन् । अहिले यो संस्कार हट्दै गएको भए पनि अवशेष बाँकी नै छ ।
भोली विहान देवघाट धाममा, गैँडाकोट १ को आदर्श टोलको मन्दिर क्षेत्रको किनारमा, नारायणी गङ्गा महाआरती स्थल नारायणघाटमा लगायतका क्षेत्रमा बैदिक बिधिपर्वक सामुहिक श्रावणीस्नान हुने भएको छ । यो कर्ममा आन्तरिक एवं बाह्य शुद्धि गोबर, माटो, खरानी, दतिउन, दुबो, कुश र मन्त्रहरूद्वारा गरिन्छ । पञ्चगव्य महाऔषधि हो । श्रावणी पर्वमा गाईको दूध, दही, घिउ, गोबर र गहुँतले पखालेर शरीर एवं अंतःकरणलाई शुद्ध गरिन्छ ।
जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ ।
द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनैलाई उपवीत, यज्ञसूत्र, ब्रह्मसूत्रजस्ता नामले पनि चिनिन्छ । जनै धारण गर्ने परम्परा वैदिक कालदेखि चलिआएको छ ।
जनै तीनवटा पवित्र डोरो, सूत्र वा धागोबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई बुझाउँछ । यसलाई देवऋण, पितृऋण र ऋषिऋणको प्रतीक पनि मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरण र तीन आश्रमका पनि प्रतीक हुन् ।
जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकी जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् ।
जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ
दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्ने बैज्ञानिक आधार रहेको बताइन्छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुने बताइन्छ ।
जनै धारण गर्ने विधि र त्यसपछिका नियम
स्नान र आचमन गरेर शुद्ध भएपश्चात् नयाँ जनै लगाउँदा यस्तो मन्त्र पढिन्छ–
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात् । आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः।।
नयाँ जनै लगाइसकेपछि पुरानो जनै फुकाल्दा यस्तो मन्त्र पढिन्छ–
एतावद्दिन पर्यन्तं ब्रह्मत्वं धारित्वं मया । जीर्णत्वात्वत्परित्यागगच्छसूत्र यथासुखम् ।।
रक्षाबन्धनको दिन यो मन्त्र उच्चारण गर्दै धारण गर्ने गरिन्छ ।
“येन बद्धो बलीराजा दानवेन्द्रो महावल।।
तेन त्वां प्रतिबध्नामि र क्षे मा चल मा चल।।
जनैको एक डोरो चुँडियो वा जनै लगाएको ४ महिनाभन्दा बढी समय भयो भने बदल्नुपर्छ । चुँडिएको जनै शरीरमा धारण गर्नुहुँदैन । जनै मैलिन थाल्नुअघि नै परिवर्तन गर्नुपर्छ । घर वा कुलकुटुम्बमा जन्म वा मरणको सूतकपछि जनै बदल्नुपर्छ ।
जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम रहेको छ ।



