उदयपुर — झन्डै दुई महिना यता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी आज बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो ।
विशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताए । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।
नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिरहेको नगर प्रमुख अशोक कार्कीले बताए । कार्कीका अनुसार अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसख्या विस्थापनको उच्च जोखिमा छन् ।
अहिले करिब २० मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ । कटान जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको प्रमुख कार्कीले बताए ।
अहिले कोसीको मूल बहाव नै क्रमशः पश्चिम धकेलिँदै गरेको त्यहाँ रहेका बेलका नगरपालिका-३ का वडासदस्य फाल्गुणी कार्कीले बताए । कोसी मानववस्तीतर्फ छिरिसकेको कार्कीले बताए ।
कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छ । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।
अहिले कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगरप्रमुख कार्कीले बताए । त्यसैले जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले बताए । कार्कीका अनुसार डुम्रिबोटेमा कटान भएका कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ । २०४५ सालअघि कोसी ७ नम्वर नोच दक्षिण डुम्रिबोटे हुँदै बग्ने गरेको सर्वसाधण बताउछन् ।



